छानबिन समितिले लियो सुधन गुरुङसँग बयान, अन्तिम चरणमा छानबिन

काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले उनीसँग बयान लिएको छ । समितिले मंगलबार र बुधबार गरी दुई दिन गुरुङसँग बयान लिएको हो । समिति स्रोतले गुरुङसँग बयान लिएको पुष्टि गरेको छ ।

‘हामीले बयान लिइसकेका छौं । आवश्यक पर्‍यो भने फेरि बोलाउनसक्ने अवस्था छँदैछ’, समिति स्रोतले अनलाइनखबरसँग भन्यो । बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।

समितिले गुरुङसँग बयान लिएसँगै छानबिन अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रतिवेदन बुझाउने तयारी भइरहेको समिति स्रोतले बतायो । अहिले प्रतिवेदन लेखन कार्य चलिरहेको र त्यसलाई अन्तिम रूप दिएर सरकारलाई बुझाइने भनिएको छ ।

समितिलाई दिइएको १५ दिनको समय सकिन लागेकाले प्रतिवेदनको हतारो रहेको समितिले जनाएको छ । यसअघि समितिका अध्यक्ष भण्डारीले स्पष्ट किटान गरेर प्रतिवेदन बुझाइने अनलाइनखबरलाई बताएका थिए । दोषी, निर्दोष जे भए पनि प्रमाणले पुष्टि गरेर स्पष्ट किटान गरेर प्रतिवेदन बुझाइने उनको दाबी थियो ।

के हो सुधनमाथिको आरोप ?

सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवसायी दीपक भट्ट १९ चैतमा काठमाडौंबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमै छन् । हिरासतमा रहेका व्यवसायी भट्टसँग साझेदार देखिएपछि गुरुङ विवादमा तानिएका थिए ।

सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा सेयर देखिएको जस्ता विषय सार्वजनिक भएपछि ९ वैशाखमा गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । उनले बुझाएको सम्पत्ति विवरण, जग्गा, सुनलगायतका विषयमा अनेक टीकाटिप्पणी भएका थिए ।

राजीनामा दिँदै गुरुङले फेसबुकमा लेखेका थिए, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् ।’

छानबिन होस् भन्दै गुरुङले राजीनामा दिएको २० दिनपछि ३१ वैशाखमा सरकारले छानबिन समिति बनाएको थियो । आफूमाथि आरोप लागेपछि गुरुङले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता गृहमन्त्रालय प्रधानमन्त्रीकै मातहत रहेर चल्दै आएको छ । छानबिन समितिले निर्दोष ठहराए गुरुङ पन: गृहमन्त्री बन्न सक्ने चर्चा पनि उत्तिकै छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search