अर्थतन्त्रको आकार ६६ खर्ब, विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक ‘रेकर्ड’

काठमण्डाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसदमा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ । आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउनुभयो ।

आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ । देशको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा न्यून रहने देखिएको छ ।

सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ । आर्थिक गतिविधिमा बागमती प्रदेश सबैभन्दा अघि छ जसले जीडीपीमा ३६.७ प्रतिशत योगदान पुर्‍याएको छ । यद्यपि प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने ४.२० प्रतिशतले सङ्कुचन आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ ।

अर्थमन्त्री वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्ममा सङ्घीय राजस्व ३.२ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी खर्च १०.४ प्रतिशतले बढे पनि पूँजीगत खर्च (विकास खर्च) मा भने उल्लेख्य सुधार हुन सकेको छैन । सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैया पुगेको छ जुन जीडीपीको ४३.६ प्रतिशत हो । यसै वर्ष सरकारले ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।

वाग्लेले सर्वेक्षण पेश गर्दै देशको बाह्य क्षेत्र निकै बलियो देखिएको बताउनुभएको छ । उहाँका अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँमा पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यद्यपि व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुग्नु अर्थतन्त्रका लागि चुनौती बनेको छ ।

आर्थिक सर्वेक्षण अनुसार प्रविधिमैत्री भुक्तानीमा उल्लेख्य प्रगति भएको छ । फागुन महिनासम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ । यस्तै सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ’बीबी–’ स्टेबल आउटलुक प्राप्त गरेको छ जसले अन्तर्राष्ट्रियस्तरमा नेपालको शाख सुध्रिएको सङ्केत गर्छ । मुद्रास्फीति (महँगी) भने नियन्त्रणमै रहेको छ जुन औसत २.१३ प्रतिशत छ ।

मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको छ । मानव विकास सूचकाङ्क ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर प्रतिलाख १५१ र ५ वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको छ । शिक्षातर्फ आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढ्दो क्रममा रहेको आर्थिक सर्वोक्षणमा उल्लेख छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search