काठमाण्डाै । कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनुभएको छ ।
आज बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको सङ्कट उत्पन्न हुने चेतावनी दिनुभयो । उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झन्डै ९ लाख मेट्रिक टन भए पनि सरकारले बढीमा ५ लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ ।
यसपालि भाउ बढेकाले ३ लाख ५९ हजार १०० मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग १ लाख ५ हजार २४१ मेट्रिक टन मौज्दात रहेको पाेखरेलले बताउनुभयो । उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ ।
बैठकमा सांसदहरूले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
यस्तै कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताउनुभयो । मल अभाव हुन नदिन भारतसँग ५० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरू गरिसकेको उहाँको भनाइ छ ।
मन्त्री चाैधरीले सरकारले रासायनिक मलको सन्तुलित प्रयोग तथा जैविक तथा प्राङ्गारिक मलको प्रयोगमा जोड दिएको पनि स्पष्ट पार्नुभयो ।











