काठमाण्डाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजनीतिक अस्थिरताको चक्र अन्त्य भएसँगै समष्टिगत आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको दाबी गर्नुभएको छ ।
आज सङ्घीय संसद्काे संयुक्त बैठकमा आउँदाे आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्र सुधाराेन्मुख अवस्थामा पुगेको दाबी गर्नुभएको हो । उहाँले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, विदेशी विनिमय सञ्चिति सुदृढ अवस्थामा रहेको तथा स्वच्छ ऊर्जा र प्रविधि क्षेत्रमा नेपालसँग ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री वाग्लेका अनुसार देश अहिले वृहत्तर आर्थिक सुधारको निर्णायक मोडमा पुगेको छ । आर्थिक सुधार, लगानी प्रवर्द्धन र उत्पादनमुखी क्षेत्र विस्तारमा सरकार केन्द्रित रहेको उहाँको भनाइ छ ।








