काठमाण्डाै । प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चितवन पुग्नुभएकाे छ । पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन उहाँ केहीबेरअघि चितवन पुग्नुभएकाे छ ।
आज दिउँसाे २ बजे शुरू हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
पर्सि मङ्गलवारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झन्डै ४ हजार प्रतिनिधिसहित नेता/कार्यकर्ता सहभागी हुँदैछन् । २०७९ सालमा स्थापना भएको रास्वपाले गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा झन्डै दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ ।
भरतपुरकाे गेस्टहाउस चाैरमा हुने रास्वपाको पहिलो महाधिवेशनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक सबैजसो व्यवस्थापनको काम पूरा भएको रास्वपाका प्रवक्ता मनिष झाले बताउनुभयो ।
प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशमा रहेका सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । रास्वपाले पार्टी सदस्य ५ लाख पुर्याएको जनाएको छ ।
हिजो चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्ने विधान संशोधन गरिसकेको छ । बन्दसत्र उद्योग सङ्घ चितवनको सभाहलमा हुनेछ ।
पहिलो महाधिवेशनले १९ पदाधिकारीसहित १५८ केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनुभयो ।











