विश्वकप २०२६ : पोर्चुगल र नवप्रवेशी उज्वेकिस्तान खेल्दै

काठमाण्डाै । फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्वेकिस्तान खेल्दैछन् । समूह ‘के’ को यो खेल राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा हुनेछ ।

प्रतियोगितामा दुवै टोली पहिलो जीतको खोजीमा छन् । पोर्चुगलले पहिलो खेलमा डीआर कङ्गोसँग १–१ को बराबरी खेलेको थियो । यस्तै उज्वेकिस्तान कोलम्बियासँग ३–१ ले पराजित भएको थियो ।

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ । आजको खेल ४१ वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ ।

फुटबल इतिहासमा पोर्चुगल र उज्वेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि यी दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय, मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन । फिफा वरीयतामा पोर्चुगल नवौँ र उज्वेकिस्तान ५४औँ स्थानमा छ ।

विश्वकपमा राति पौने २ बजे समूह ‘एल’ का इङ्ग्ल्यान्ड र घाना खेल्दैछन् । यो खेल अमेरिकाको बोस्टन रङ्गशालामा हुनेछ । आफ्नो पहिलो खेलमा इङ्ग्ल्यान्डले क्रोएशियालाई ४–२ र घानाले पनामालाई १–० ले हराएको थियो । फिफा वरीयतामा इङ्ग्ल्यान्ड चौथो र घाना ६५औँ स्थानमा छ ।

विश्वकपमा भोलि बिहान पौने ५ बजे समूह ‘एल’ का पनामा र क्रोएशिया खेल्दैछन् । यो खेल क्यानडाको टोरन्टो रङ्गशालामा हुनेछ । फिफा वरीयतामा क्रोएशिया १५औँ र पनामा ४०औँ स्थानमा छ ।

विश्वकपमा बिहान पौने ८ बजे समूह ‘के’ का कोलम्बिया र डीआर कङ्गो खेल्दैछन् । यो खेल मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा हुनेछ । फिफा वरीयतामा कोलम्बिया १२औँ र डीआर कङ्गो ४३औँ स्थानमा छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search