अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै ९० मिनेट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनुभएको छ । रोयटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनुभएको छ ।
छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रुसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा राख्नुभएको छ । साथै उहाँले युक्रेन र उसका युरोपेली सहयोगीहरूले द्वन्द्व लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढाउने प्रयास गरिरहेको आरोप पनि लगाउनुभएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताउनु भएको खबरमा उल्लेख छ ।
उहाँका अनुसार दुवै नेताले टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा थप छलफल गर्ने सहमति गरेका छन् । ट्रम्पले अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुशनरले शान्ति वार्ताको पहललाई निरन्तरता दिने र आवश्यक परे मस्को भ्रमण गर्न सक्ने बताउनु भएको छ ।
पुटिनले ट्रम्पलाई मस्को भ्रमणका लागि आमन्त्रण गर्नुभएको छ । रुसले युद्ध समाधानका लागि डोनबास क्षेत्रमाथि पूर्ण नियन्त्रणको आफ्नो अडान दोहोर्याइरहेको छ भने युक्रेनले त्यसलाई अस्वीकार गर्दै आएको छ ।











