काठमाण्डाै । सरकारले विदेशबाट फर्किँदा अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ । नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिनयता दुबई, कतारलगायत देशमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताइको छ ।
कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानूनी कारबाही गरिरहेको जनाउँदै अवैध ओसारपसारमा संलग्न भएमा कारबाही हुने चेतावनी दिएको छ । साथै विमानस्थलमा कुनै शङ्कास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ ।











