काठमाण्डाै । नेपाली कांग्रेस आधिकारिकता विवादको मुद्दालाई पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि आज प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भएकाे हो । इजलासले पुनरवलोकनका लागि अनुमति प्रदान गरेको हो ।
अब कांग्रेस विवाद निरूपणका लागि ३ जना न्यायधीशको इजलासमा फेरि सुनुवाइ हुनेछ । यसअघि २ न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजालसले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो ।
त्यस बेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो । त्यस बेलाको फैसला ठीक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ । अब हुने बहसले फैसला गरेबमोजिम आधिकारिकताको निर्णय हुनेछ ।
अहिले विदेशमा रहनुभएका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पनि यही हप्ता स्वदेश फर्कनुहुने बताइएको छ ।











