एआईले विकास गर्‍यो पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस

कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गरेर अमेरिकी वैज्ञानिकहरूले पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस डिजाइन गरेका छन् । स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले एआईको सहयोगमा १६ वटा नयाँ ब्याक्टेरियोफेज भाइरस तयार गरेका बीबीसीले जनाएको छ । यी भाइरसले केवल ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई मात्र संक्रमित गर्छन् र मानिसका लागि कुनै खतरा नरहेको वैज्ञानिकहरूको दाबी छ ।

अनुसन्धान टोलीका अनुसार एआईलाई भाइरस, ब्याक्टेरिया, वनस्पति र मानवको आनुवंशिक जानकारीमा प्रशिक्षण दिइएको छ । प्रयोगशालामा तयार गरी परीक्षण गर्दा १६ वटा भाइरसले सफलतापूर्वक ब्याक्टेरियालाई नष्ट गर्न सकेका छन् ।

यो उपलब्धिले भविष्यमा एन्टिबायोटिकले काम नगर्ने ब्याक्टेरियाविरुद्ध नयाँ उपचार गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी फेज थेरापीको विकासमा यो प्रविधि उपयोगी हुन सक्ने विश्वास गरिएको छ । यद्यपि यस उपलब्धिसँगै सुरक्षा र जैविक जोखिमबारे चिन्ता पनि व्यक्त गरिएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका विज्ञहरूले एआईमार्फत नयाँ भाइरस डिजाइन गर्ने प्रविधिले जैविक सुरक्षा र दुरुपयोगका सम्भावित जोखिमबारे गम्भीर प्रश्न उठाएको बताएका छन् । अनुसन्धानकर्ताहरूले भने मानिस वा अन्य जटिल जीवलाई संक्रमित गर्ने भाइरस प्रयोग नगरी, सुरक्षित प्रयोगशालामा केवल ब्याक्टेरियालाई संक्रमित गर्ने भाइरसमा मात्र अध्ययन गरिएको स्पष्ट पारेका छन् ।

विज्ञहरूका अनुसार यो उपलब्धि जीवविज्ञानको इतिहासमै एउटा महत्त्वपूर्ण मोड हो । अब कम्प्युटरमार्फत नयाँ जैविक प्रणाली डिजाइन गर्ने सम्भावना अझ व्यापक बनेको छ, जसले भविष्यमा नयाँ औषधि, जीन उपचार र क्यान्सरविरुद्धका उपचार विकासमा नयाँ ढोका खोल्न सक्ने विश्वास गरिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search