काठमाण्डौ । साउन लागेयता अभाव शुरु भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन । उपभोक्ता एउटा सिलिन्डर लिन घण्टौँ लाइन बस्न बाध्य छन् । तर नेपाल आयल निगमले सामान्य अवस्थामाको खपतभन्दा धेरै आयात भइरहेको जनाएको छ । पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै ५५ हजार मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ ।
सामान्य अवस्थामा महिनामा ४५ /४६ मेट्रिक टनसम्म ग्यास भित्रने गर्छ । निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले आयात बढाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनुभएको छ । सरकारले ठूला चाडपर्वमा ग्यासको अभाव नहोस् भनेर तीन महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक प्रयास पनि गरिरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनुभएको छ । यसअघि आधा सिलिन्डर दिइँदै आएकोमा पूर्ण सिलिन्डर उपलब्ध गराउन थालेपछि बजारमा ग्यासको माग र आपूर्तिको असन्तुलन देखिएको छ ।
नेपालमा अहिले ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगमा १० हजार १६६ मेट्रिक टन भण्डारण र दैनिक एक करोड ७५ लाख सिलिन्डर दैनिक फिलिङ क्षमता रहेको छ । बजारमा ग्यास सहज बनाउन मन्त्रालयले उद्योग तथा डिलरको अनुगमनलाई तीव्र पारेको छ ।
हिजो मात्रै उद्योगमन्त्रीसहितको टोलीले काठमाण्डौ बालाजुमा रहेको नेपाल ग्यास उद्योग तथा टेकुको निगम परिसर नेपाल, एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासको बिक्री केन्द्रको निरीक्षण गरेको थियो । निगममा गठन गरिएको क्विक रेस्पोन्स टोलीले पनि ग्यास नपाएको भन्ने उपभोक्ताका ५०० भन्दा धेरै गुनासोलाई सम्बोधन गरेको जनाएको छ ।
वाणिज्य मन्त्रालय, निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी टोलीले उपभोक्ताको गुनासाका आधारमा ग्यास उपलब्धताका लागि सहजीकरण गर्दै आइरहेको आपूर्ति मन्त्रालयका शाखा अधिकृत दुर्गादत्त भट्टले बताउनुभएको छ । ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगमले आग्रह गरेको छ ।











