नेपाल महिला संघ जिल्ला कार्य समिति संखुवासभाले मार्टस नेपाल संखुवासभाद्वारा संन्चालित बाल कल्याण गृहलाई आठ हजार बरावरको खाद्यान्न र स्टेशनरी सामग्री उपलब्ध गराएको छ ।
नेपाल महिला संघको ७५ औँ स्थापना दिवसको अवसरमा नेपाल महिला संघ संखुवासभाका सभापति निरु तामाङ बस्नेत, नेपाली कांग्रेसका कार्यवाहक सभापति रामकुमार जिमि, खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलिया लगायतको उपस्थितिमा चामल, चाउचाउ, विस्कुट लगायतका खाद्य सामग्री र स्टेशनरी सामग्री उपलब्ध गराईएको मार्टस नेपालका अध्यक्ष सन्तोष चापागाईले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ बस्नेतले महिला संघले महिलाहरुको हकहित र अधिकारका पक्षमा जिल्लामा निरन्तर रुपमा आवाज उठाईरहेको धारणा राख्नुभएको थियो । ७५ औँ स्थापना दिवसको अवसरले लैङगिक हिंसा र सामाजिक विकृति र विसंगती रोक्न सकोस भन्ने शुभकामना प्रकट गर्नु हुँदै सभापति तामाङले महिला विरुद्ध हुने सबै किसिमका हिंसा र भेदभाव नियन्त्रणमा सबै पक्षको भुमिका महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति रामकुमार जिमिले नेपाल महिला संघ शाखा कार्यलय संखुवासभाले ७५ औँ स्थापना दिवसको अवसर पारेर सहयोग हस्तान्तरण गरेकोमा धन्यवाद प्रकट गर्नुभएको थियो । उक्त सहयोग कार्यक्रमलाई सम्बोधन गर्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले मार्टस नेपालले अनाथ र असाहाय बालबालिकालाई सहयोग गरेकोमा नेपाल महिला संघलाई धन्यवाद प्रकट गर्नुभएको थियो । अनाथ र असाहाय बालबालिकाका लागी आगामी दिनमा नगरपालिकाले विशेष निति तथा कार्यक्रम निर्माण गरेर नियमित व्यवस्थापनका लागी नगरपालिकाले सकेको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।
सहयोग उपलब्ध गराएकोमा मार्टस नेपालका अध्यक्ष सन्तोष चापागाईले धन्यवाद प्रकट गर्दै मार्टस नेपालले व्यहोरेको समस्याको बारेमा जानकारी गराउनु भएको थियो ।










