संखुवासभा । युनाईटेड वल्ड स्कुल्स नेपाल संखुवासभाको आयोजना तथा जिल्ला समन्वय समिति संखुवासभाको समन्वयमा युनाईटेड वल्ड स्कुलको दोश्रो चरणको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिती संखुवासभाको सभाहलमा बुधबार (साउन २३) गते भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिको प्रमुख सुमन शाक्यले गर्नु भएको थियो।
कार्यक्रममा युडब्लुएस नेपालले संखुवासभामा हालसम्म गरेको कामहरुको प्रगति विवरण तथा आगामी बर्ष यु डब्लु एस नेपाल मार्फत शैक्षिक क्षेत्रमा पालिकाको समन्वय मा संचालन हुन सक्ने योजनाहरु समेत यु डब्लु एस नेपालका राष्ट्रिय निर्देशक सुर्य कार्कीले प्रस्तुत गर्नु भएको छ।

संखुवासभा जिल्लाका ९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख ,प्रमुख प्रशासकीय अधिकृत ,शिक्षा शाखा प्रमुख तथा प्रतिनिधि र जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइ संखुवासभाका इकाई प्रमुख सहित ३२ जनाको उपस्थिति रहेको यु डब्लु एस नेपालका आशिष अधिकारीले जानकारी दिनुभएको छ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख गोपालमान भण्डारीले यु डव्लु एस नेपालले शिक्षा क्षेत्रमा गरेको काम र पुर्याएको योगदान प्रती उच्च सम्मान गर्दै आगामी दिनमा पनि इकाई सग थप समन्वय गरि अगाडी बढ्न अनुरोध समेत गर्नु भएको छ। इकाई मा कर्मचारी कम तथा सबै विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइ गतिविधि का तालिमहरु समेत गर्न नसकिरहेको अवस्थामा यु डब्लु एस नेपालले संचालित गरेको यस्ता कार्यक्रमले जिल्लामा रहेका विद्यालयका विद्यार्थीहरु लाई थप टेवा पुग्ने बताउनु भएको छ।
त्यस्तै कार्यक्रम आप्नो धारणा राख्ने क्रममा धर्मदेबी नगरपालिकाका नगर प्रमुख उदयचन्द्र पौडेलले यु डब्लु एस नेपालले आफ्नो नगरपालिका भित्र रहेका विध्यालयहरुमा गुणस्तरीय शिक्षाको लागि पुर्याएको योगदान र फेलोसिप कार्यक्रमले पुर्याएको योगदानको लागि धन्यवाद व्यक्त गर्नु भएको छ। आगामी दिनमा पनि नगरपालिका शिक्षा क्षेत्रमा जस्तो सुकै सहकार्य गर्न तयार रहने प्रतिबद्धता जनाउनु भएको छ। त्यस्तै चैनपुर नगरपालिकाका नगरप्रमुख कृष्ण कुमार तामाङले पनि यु डब्लु एस नेपालले स्थानीय सरकार आफुले गर्नु पर्ने कामलाई यु डब्लु एस ले साझेदारी गरि गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्नको लागी खेलेको भुमिकालाई उच्च कदर गर्दै आगामी दिनमा पनि सहकार्यको लागी नगरपालिका को तर्फ बाट गर्नु पर्ने सम्पुर्ण काम गर्ने बताउनुभएको छ ।
खाँदबारी नगरपालिका उपप्रमुख महेश्वरा बज्राचार्यले यु डब्लु एस नेपाल संग शैक्षिक गुणस्तर सुधारका निम्ति निरन्तर काम गर्न खादबारी नगरपालिका तयार रहेको बताउदै यो बर्ष पालिका भित्रका ३ वटा विद्यालयलाई यु डब्लु एस नेपाल संग सहकार्य गर्न प्रस्ताव समेत गर्नुभयो । मकालु गाउँपालिका उपाध्यक्ष मनकला राईका अनुसार मकालु गाउपालिका भित्र यु डब्लु एस नेपाल ले शैक्षिक क्षेत्रमा निकै ठूलो लगानी र योगदान गरेको बताएकी छिन। उनका अनुसार यु डब्लु एस नेपालले शिक्षकहरुलाई दिईने तालिमलाई मकालु गाउपालिका भित्र रहेका सबै शिक्षकहरुलाई दिनका निम्ति यु डब्लु एस नेपाल संग साझेदारि गर्दै सहकार्य गर्न पालिका तयार रहेको समेत बताएकी छन।
कार्यक्रमको अन्त्यमा बोल्दै जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले यु डब्लु एस नेपालले गरेका काम र आगामी पाँच बर्षका लागि राखिएको लक्ष्य पूरा गर्न सबै स्थानीय तहहरुलाई आग्रह गर्नु भएको छ। सबैले शिक्षाको गुणस्तर सुधारमा आफ्नो आफ्नो ठाउँ बाट भुमिका निर्वाह गर्नु पर्ने र संघसंस्थाले गरेका राम्रा कामलाइ प्रभावकारी बनाउन लाग्नु पर्ने मा समेत जोड दिनु भएको छ।
विद्यालय परिचालकको अवधारणा र त्यसले विद्यालयमा गर्ने काम, पालिका स्तरमा खेल्ने भुमिका आवस्यक छलफल गरि त्यसको सुधारात्मक अवस्था सिर्जना हुने बिश्वास राख्दै आगामी दिनका कार्यक्रम साझेदारीमा समेत सबै पालिकाले आफ्नो आफ्नो तवर बाट पहल गर्न जोड दिनु पर्ने बताउनु भएको छ। कार्यक्रम को संचालन तथा सहजिकरण निमित्त जिल्ला समन्वय अधिकारी शुक्रादेवी राईले गर्नु भएको थियो।

युडब्लुएस नेपाल बिगत आठ बर्ष देखि नै संखुवासभा, भोजपुर, ताप्लेजुङ ,गुल्मी तनहुँ तथा हुम्लाका विभिन्न स्थानीय तहमा निरन्तर रुपमा ग्रामीण र सीमान्तकृत समुदायहरूमा बस्ने बालबालिकाको शिक्षा र शैक्षिक अवसरहरू सुधार गर्न प्रतिबद्ध हुँदै आइरहेको छ। संस्थाले गुणस्तरीय र समावेशी शिक्षाको पहुँचबाट ग्रामीण नेपालका ७६ विद्यालय सहित १४ हजार भन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित गरेको यु डब्लु एसका राष्ट्रिय निर्देशक सुर्य कार्कीले जानकारी दिनुभएको छ।











