काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा प्रहरीले नयाँ तथ्यहरु फेला नपारीकन प्रतिवेदन बुझाएको छ ।
भारतबाट समातेर ल्याइएका बेचन झामाथि काठमाडौं प्रहरीले अनुसन्धान चलाइरहेको थियो । झाविरुद्ध अनुसन्धान सकेर प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार अदालतमा दायर गरेको अभियोग पत्रमा प्रकरणबारे कुनै नयाँ तथ्यहरु उल्लेख छैनन् ।
उनीसँगको बयानमा उच्च राजनीतिक तहको संलग्नताबारे उल्लेख नभएको प्रहरी स्रोत बताउँछ । झाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वप्रमुख हेमन्त मल्ल ठकुरीका अनुसार, सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालत, काठमाडौंमा दायर गरेको अभियोग पत्र हेर्दा तत्काललाई झाको अनुसन्धानले थप नेक्सस खोतल्न सक्ने देखिँदैन ।











