“मकालु सन्देश” विशेषांक – ०२

मकालु गाउँपालिका र संखुवासभा मल्टिमिडियाको सहकार्यमा वडा तथा गाउँपालिका र सेवाग्राहिबिच पारस्परिक जवाफदेहिता कायम गर्ने उद्धेश्यका साथ तयार गरिएको भिडियो, अनलाइन र छापा संस्करणमा प्रस्तुत कार्यक्रम “मकालु सन्देश”

यो कार्यक्रम हरेक महिनाको १५ र ३० गते मकालु गाउँपालिकाको फेसबुक पेज, हेर्ने चित्र फेसबुक र युट्युव च्यानलबाट साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म, संखुवासभा एक्सप्रेस साप्ताहिकमा हरेक महिनाको दोस्रो र अन्तिम साता साथै हेर्ने चित्र अनलाइनमा हरेक महिनाको १५ र ३० गते प्रशारण तथा प्रकाशन हुने गर्दछ ।

समाचारहरु

१. मकालु महोत्सवको अवसरमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने
मकालु गाउँपालिकाको आयोजनामा सञ्चालन हुने मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सम्मेलनको अवसरमा अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । फागुन १४ गते देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले २ लाख ५० हजार, द्धितीय हुनेले १ लाख २५ हजार, तृतीय हुनेले ६० हजार र सान्त्वना हुनेले ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीले ३ हजार ५ सय साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट लिबेरो, वेष्ट सरबर र वेष्ट डिफेन्सले जनही २ हजार ५ सय साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।

फागुन १२ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नु पर्नेछ भने २हजार ५ सय टिम दर्ता शुल्क रहेको खेल संयोजक मिलन पोख्रेलले बताउनु भयो । खेल मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा हुनेछ । खेल १४ गतेबाट सुरु भई १७ गते सम्पन्न हुनेछ ।

प्रत्येक वडाको आ–आफ्नै स्टल राखिने
मकालु महोत्सवको लागि वडागत स्टलहरु राखिने भएको छ । मकालु गाउँपालिका भित्रका वडाहरुमा उत्पादन भएका कृषिजन्य उत्पादन तथा हस्तकला सम्बन्धी सामाग्रीहरुको आ–आफ्नै स्टल व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले माघ २७ गते सूचना जारी गर्दै वडा नं. १ बाट भिर महुरीको मह, सिमल तरुल, मकै, भटमास, आलु आदिको स्टल राखिने छ । वडा नं. २ बाट मुर्ति, अलैँची, यार्सागुम्बा र अन्य जडिबुटि राखिनेछ । त्यसैगरि वडा न. ३ बाट राडिपाखी, सेतो चामल, दाल जस्ता कृषिजन्य सामाग्रीहरुको व्यवस्था मिलाईने छ । वडा नं. ४ बाट छुर्पि, लप्सिको अचार, खुकुरी, चौरीको पुच्छर ऊन आदिको स्टल राखिने छ । यसैगरि वडा नं ५ बाट राडिपाखी, ताकमारु चामल, अल्लो र ऊनको स्टल राखिने भएको छ । वडा नं. ६ बाट सिमल तरुल र फलफुलका अन्य सामाग्रीहरुको स्टल राखिनेछ ।

उक्त सूचनाका आधारमा आआफ्नो जिम्मेवारी पुरा गर्न साथै वडागत स्टलहरुको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । सम्मेलनको अवसरमा गत कार्यपालिकाको निर्णय बमोजिम नुम बजार क्षेत्र सरसफाई गर्न गाउँपालिकाले सूचना जारी गरेको थियो । माघ १४ गते सार्वजनिक गरिएको सूचनामा १५ दिन भित्र आफ्नो घर वरपर, सार्वजनिक स्थल तथा सडकमा राखिएका विभिन्न वस्तुहरु हटाउन अनुरोध गरिएको थियो । जथाभावि राखिएका दाउरा, ढुंगा, गिटी, बालुवा, सवारी साधन, कवाडी सामान र घर पालुवा पशु वस्तुहरु हटाउन सूचनामा उल्लेख गरिएको थियो ।

साथै नुम बजारलाई सफा राखी आगामी सञ्चालन हुने महोत्सव तथा सम्मेलनलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न मकाल्ु बासीमा अनुरोध गरिएको छ ।

महोत्सवका अवसरमा भलिबल प्रतियोगिता, मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान, स्थानीय झाँकी प्रदर्शन, स्थानीय उत्पादनका स्टलहरु, साँस्कृतिक कार्यक्रम र साहित्यिक सम्मेलन गरिने भएको छ । कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहनेछ । लोक दोहोरी गायक राजु परियार, आशा विसी, गिता योञ्जन, फुलन्देकी आमा (उमेश राई) लगायत स्थानीय कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

गत वर्ष पनि गाउँपालिकाको आयोजना तथा द नर्थ वरुण युथ क्लवको संयोजनमा महोत्सव सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्ने संस्था र व्यक्तिहरु, हिमाल आरोहीहरुलाई सम्मान गरिएको थियो ।

 

२. मकालुका शिक्षकहरुलाई २ दिने आवासीय पाठ्यक्रम प्रबोधिकरण तालिम सम्पन्न

मकालु गाउँपालिकाका शिक्षकहरुलाई २ दिने आवासीय पाठ्यक्रम प्रबोधिकरण तालिम दिइएको छ । मकालु गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिम माघ १८ र १९ गते गाउँपालिकाको केन्द्र नुममा सञ्चालन गरिएको थियो । गाउँपालिका भित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षकहरुलाई प्रबोधिकरणको तालिम दिइएको शिक्षा शाखा संयोजक पुष्प बहादुर तामाङले बताउनु भयो ।

उक्त तालिममा मकालुका ४७ ओटा विद्यालय मध्ये ४६ ओटा विद्यालयका जनही एक जनाको दरले ४६ जना शिक्षकहरुको उपस्थिति रहेको थियो । सहभागी शिक्षकहरुलाई विषयगत जिल्ला रोष्टर गोबिन्दमान तामाङ, मन कुमार राई, अरबिन्द कुमार यादव, गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज ढुंगानाले प्रशिक्षण गर्नु भएको थियो ।

 

३. आधारभूत तहका शिक्षकहरुलाई अंग्रेजी, गणित र विज्ञान विषयको तालिम
मकालु गाउँपालिकामा आधारभूत तहका शिक्षकहरुलाई अंग्रेजी, गणित र विज्ञान विषयको तालिम दिइएको छ । मकालु गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय नुमको आयोजनामा माघ २० गते देखि २४ गते सम्म ५ दिबसीय तालिम दिइएको होे । अंग्रेजी, गणित र विज्ञान विषयका विज्ञहरुद्वारा तालिम दिइएको हो ।

तालिममा ४५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । शिक्षकहरुको पेशागत विकास गर्न, नयाँ शैक्षणिक पद्वतिहरुको कार्यान्वयन गर्न तथा विषयबस्तुमा देखिएका समस्याहरुको समाधान गर्ने उद्घेश्यले तालिम सञ्चान गरिएको मकालु गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज ढुंगानाले जानकारी दिनु भयो ।

 

४. मकालुमा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न
मकालुमा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । मकालु गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनामा फागुन २७ र २८ गते कार्यक्रम सञ्चालन गरिएको थियो । गाउँपालिका अन्तर्गतका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई प्रतिभा पहिचान अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको हो । विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको शिक्षा शाखा संयोजक पुस्प बहादुर तामाङले बताउनु भयो ।

कार्यक्रममा पालिका भित्रका ३५ ओटा आधारभूत विद्यालयको सहभागिता रहेको थियो । ३५ आधारभूत विद्यालय मध्ये २० समूह दोस्रो चरणको कार्यक्रमको लागि छनौट भएको थियो भने तेस्रो चरणमा १० समूह प्रवेश गरेको थियो ।

उक्त कार्यक्रममा हेमाद्रि माध्यमिक विद्यालय मकालु २ ले प्रथम स्थान हासिल गरेसंगै नगद ३० हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै राजारानी आधारभुत विद्यालय मकालु ३ ले दोस्रो स्थान हासिल गर्दै नगद २० हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यसै गरि सिंहेश्वरी माध्यमिक विद्यालय मकालु ५ नुम तेस्रो भए संगै नगद १० हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । अरुण भ्याल्ली इंलिस स्कूल सान्त्वना भएको थियो । अरुणले ५ हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । कार्यक्रम मकालु गाउँपालिका ५ नुममा भएको थियो ।

५. हालसम्म मकालुका ५१७ जनालाई एचपीभी खोप दिइयो
नेपाल सरकारले २०८१ माघ २२ गते देखि २०८१ फागुन ७ गतेसम्म देशैभर एचपीभी खोप अभियान सञ्चालनको घोषणा गरी अभियान चलाइरहेको छ । यस अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान मकालु गाँउपालिका अन्तरगतका विद्यालयहरुमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई र विद्यालय नजाने १० देखि १४ बर्षसम्मका किशोरीहरुलाई दिइनेछ ।

मकालु गउँपालिका भित्र माघ २७ देखि अभियान सञ्चालन भएको छ । माघ १९ गतेसम्मको प्राप्त विवरण अनुसार ५ सय १७ जनालाई खोप लगाई सकिएको छ । वडा नं. १ अन्तर्गत ११ जना, वडा नं. २ मा १ सय १३ जना, वडा नं.३ अन्तर्गत १ सय ५० जनालाई खोप दिइसकिएको छ । यस्तै वडा नं. ४ मा २८ जना, वडा नं. ५ मा १ सय ९४ जना र वडा नं. ६ मा ४२ जनालाई खोप लगाइएको मकालु स्वास्थ्य शाखा प्रमुख छिङ दोर्जि लामाले जानकारी दिनु भयो ।

माघ २७ गते ३ सय ३३ जनालाई, २८ गते १ सय ३६ जनालाई र माघ २९ गते ४८ जनालाई खोप लगाइको हो ।

वडा नं. ५ मा अभिमुखिकरण कार्यक्रम
मकालु गाउँपालिकाको वडा नं. ५ मा एचपीभी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मकालु गाउँपालिका स्वास्थ्य शाखा नुमको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपिभी खोप अभियान २०८१ मा वडा खोप समन्वय समिति, स्वयंसेविका, शिक्षक, संचारकर्मी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । मकालु गाउँपालिका वडा नंम्बर ५ को सभाहलमा मंगलबार सम्पन्न भएको उक्त कार्यक्रममा ३० जना बढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

वडा नं. ६ मा अभिमुखिकरण कार्यक्रम
मकालु गाउँपालिकाको वडा नं. ६ मा एचपीभी खोप सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । मकालु गाउँपालिका स्वास्थ्य शाखा नुमको आयोजना तथा याफु स्वास्थ्य चौकी मकालु ६ को सहजीकरणमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपिभी खोप अभियान २०८१ मा वडा खोप समन्वय समिति, स्वयंसेविका, शिक्षक, संचारकर्मी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । मकालु वडाको सभाहलमा सोमबार सम्पन्न भएको उक्त कार्यक्रममा २५ जना बढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

विज्ञापनहरु
१.
मकालु गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
नुम, संखुवासभा
मिति : वि.सं. २०८१।१०।२७
विषयः वडागत स्टलहरु सम्बन्धमा
प्रस्तुत विषयमा मकालु गाँउपालिकाको आयोजनामा मिति २०८१।११।१४ गते देखि २०८१।११।१७ गते सम्म सञ्चालन गर्ने निश्चय भएको “मकालु महोत्सब २०८१ तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन” मा मकालु गाँउपालिका भित्रका वडाहरुमा उत्पादन भएका कृषिजन्य उत्पादन तथा हस्तकला सम्बन्धि सामाग्रीहरुका स्टल तपशिल बमोजिमका वडाहरुले तपशिल बमोजिमका स्टलहरु व्यवस्थापन गर्ने मिति २०८१।१०।१३ गतेको गाँउ कार्यपालिका बैठकबाट निर्णय भएको हुँदा आ–आफ्नो वडाको जिम्मेवारीमा परेका निर्णयानुसारका सामाग्रीहरुको वडा स्टलको व्यवस्था मिलाउनु हुन अनुरोध छ ।
तपशिल
१ नं. वडा कार्यालय
भिर माहुरीको मह, सिमल तरुल, मकै, भटमास, आलु आदी ।
२ नं. वडा कार्यालय
मुर्ति, अलैची, यार्सागुम्वा र जडीवुटी जन्य सामाग्रीहरु ।
३ नं. वडा कार्यालय
राडी पाखी, सेतो चामल, दाल, जस्ता कृषि जन्य सामाग्रीहरु ।
४ न. वडा कार्यालय
छुर्पी,लप्सी अचार, खुकुरी, चौरीका पुच्छर, उन आदी ।
५ नं. वडा कार्यालय
राडी पाखी, ताकमारु चामल, अल्लो, उन आदी ।
६ नं. वडा कार्यालय
सिमल तरुल र फलफुल जन्य सामाग्रीहरु ।
इन्द्र दर्जी
प्रमुख प्रशासकीय आधिकृत
२.
मकालु गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
नुम, संखुवासभा
मितिः २०८१/१०/२७
विषयः खुल्ला अन्तर–पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१ को सम्बन्धमा ।
प्रस्तुत विषयमा “मकालु महोत्सव २०८१ तथा दक्षिण एसियाली साहित्यिक सांस्कृतिक सम्मेलन” को पावन अवसरमा मकालु गाउँपालिकाद्वारा आयोजित खुला अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा इच्छुक पालिकाहरूलाई खेलमा सहभागिताका लागि यो सूचना प्रकाशन गरिएको छ ।
पुरस्कारहरूः
प्रथम : रू. २,५०,०००।– शिल्ड, मेडल र प्रमाण पत्र ।
द्वितीय : रु. १,२५,०००।– शिल्ड, मेडल र प्रमाण पत्र ।
तृतीय : रु. ६०,०००। – शिल्ड, मेडल र प्रमाण पत्र ।
सान्त्वना : रु. ४०,०००।– शिल्ड, मेडल र प्रमाण पत्र ।
उत्कृष्ट खेलाडी : रु ३,५००।– मेडल र प्रमाण पत्र ।
बेष्ट सरबर : रु. २,५००।– मेडल र प्रमाण पत्र ।
बेष्ट ब्लकर : रु. २,५००।– मेडल र प्रमाण पत्र ।
बेष्ट स्पाइकर : रु. २,५००।– मेडल र प्रमाण पत्र ।
खेलका नियमहरू :
१. टिम दर्ताका लागि सम्बन्धित स्थानीय तहको सिफारिस पत्र अनिवार्य संलग्न गर्नु पर्नेछ ।
२. खेलाडी संख्या टिम कोच (१) र टिम व्यवस्थापक (१) सहित जम्मा १२ जना हुनु पर्नेछ । १० जना खेलाडी बाहेक अन्य खेलाडीलाई खेलाउन पाईने छैन ।
३. खेल fivb को नियम अनुसार खेलाईनेछ ।
४. प्रत्येक पालिकाले बढीमा ३ जनासम्म बाहिरी खेलाडी समावेश गर्न पाउनेछ, अन्य खेलाडीको हकमा बसाइ सरी आएको हुनु पर्नेछ । बसाई सरी आएको खण्डमा यो सूचना प्रकाशित भएको मितिमा ६ महिना पुगेको खेलाडीलाई मात्र खेलमा सहभागी गराईनेछ ।
५. खेलाडीले खाने बस्ने आफै व्यवस्थापन गर्नु पर्नेछ ।
६. खेलाडीले अनिवार्य रूपमा खेल पोशाक लगाउनु पर्नेछ र खेल पोशाकमा नम्बर स्पष्ट देखिने हुनु पर्नेछ ।
७. खेल लिकम नकआउटको आधारमा खेलाइनेछ ।
८. आयोजकले तोकेको समयमा खेलाडीहरू उपस्थित भइसक्नु पर्नेछ, अन्यथा वाक ओभर गरिनेछ ।
९. गाउँपालिकाबाट उपलब्ध हुने खेलाडी दर्ता फाराम अनिवार्य रूपले भर्नु पर्नेछ साथै परिचय खुल्ने प्रमाण–पत्र समेत साथमा लिई आउनु पर्नेछ । यो फाराम यसै सूचना साथ संलग्न गरिएको छ ।
१०. कुनै पनि खेलाडी माथि उजुरी गर्नु परेमा प्रति खेलाडी रू.१०००।– शुल्क सहित निवेदन दर्ता गर्नु पर्ने छ र सो शुल्क फिर्ता हुने छैन ।
११. आयोजकले कुनै पनि खेलाडी माथि उजुरी परेको सूचना गरेमा सम्बन्धित खेलाडीले १ घण्टा भित्र आफ्नो पहिचान खुल्ने कागजात बुझाउनु पर्नेछ ।
१२. खेलमा कुनै विवाद आएमा आयोजक र रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
टिम दर्ता अन्तिम मितिः २०८१ फाल्गुण १२ गते बेलकी ५ः०० सम्म
मितिः २०८१ फाल्गुण १३ गते टिम र खेलाडीको नाम (टाइसिट) प्रकाशन गरिनेछ ।
टिम दर्ता शुल्कः रु २,५०० । अक्षरेपि रु दई हजार पाँच सय मात्र ।
भलिबल खेल सञ्चालन हुने स्थानः मकालु गाउँपालिका वडा नं.–५, नुम, सङ्खुवासभा ।
खेल उद्घाटन मितिः २०८१ फाल्गुण १४ गते ११ः०० बजे।
खेल समापन मितिः २०८१ फाल्गुण १७ गते
थप जानकारीको लागिः
खेल संयोजकः मिलन पोख्रेल, ९८६३७५१४२१, जोन तामाङ ९८४०९७७६१२, पुष्प बहादुर तामाङः ९८६२२८०२१०, कोषराज नेपाल ९८५११६०४७९
इन्द्र बहादुर दर्जी
प्रमुख प्रशासकीय अधिक
३.
मकालु गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
नुम, संखुवासभा
मितिः २०८१/१०/३०
विषयः रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।
श्री यो जो जससँग सम्बन्धित छ ।
संखुवासभा जिल्ला मकालु गाउँपालिका अन्तर्गत श्री शोभा आधारभूत विद्यालय मकालु गा.पा. वडा नं. ३, सिम्मामा रिक्त रहेको आधारभूत तह (१–५) को शिक्षक पदमा सरुवाको प्रक्रिया अगाडि बढाइ दिन भनी विद्यालयको च.नं.९५ मिति २०८१/१०/२९ गतेको पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तह र विषयका योग्यता पुगेका स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सहमति सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०६१ को दफा ९ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
पुनश्चः
१. तोकिएको म्याद भित्र विद्यालयको इमेल ठेगाना समेत निवेदन पेश गर्न सकिनेछ ।
२. म्याद नाघी वा तोकिए वमोजिमको रित नपुगी प्राप्त हुन आएका निवेदन माथि कुनै कारवाही हुने छैन ।
बोधार्थः
श्री शिक्षा विकास तथा समन्वय इकाइ खाँदवारी, संखुवासभा ।
श्री शोभा आधारभूत विद्यालय मकालु गा.पा. वडा नं. ३, सिम्मा ।
श्री सूचना प्रविधि शाखाः मकालु गाउँपालिका धभदकष्मभ मा अपलोड गरिदिनु हुन ।
इन्द्र बहादुर दर्जी
प्रमुख प्रशासकीय अधिकृत

यस अंकमा प्रकाशित सामाग्रीहरु हेर्ने चित्र युट्युव, फेसबुक पेज र संखुवासभा साप्ताहिक साथै मकालु गाउँपालिकाको फेसबुक पेजमा भिडियो संस्करणमा हेर्न सक्नु हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search