मकालु गाउँपालिका र संखुवासभा मल्टिमिडियाको सहकार्यमा वडा तथा गाउँपालिका र सेवाग्राहिबिच पारस्परिक जवाफदेहिता कायम गर्ने उद्धेश्यका साथ तयार गरिएको भिडियो, अनलाइन र छापा संस्करणमा प्रस्तुत कार्यक्रम “मकालु सन्देश”
यो कार्यक्रम हरेक महिनाको १५ र ३० गते मकालु गाउँपालिकाको फेसबुक पेज, हेर्ने चित्र फेसबुक र युट्युव च्यानलबाट साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म, संखुवासभा एक्सप्रेस साप्ताहिकमा हरेक महिनाको दोस्रो र अन्तिम साता साथै हेर्ने चित्र अनलाइनमा हरेक महिनाको १५ र ३० गते प्रशारण तथा प्रकाशन हुने गर्दछ ।
समाचारहरु
१. मकालु ३ मा अरुण तेस्रोका कारण ६ घर उच्च जोखिममा
संखुवासभा । मकालु गाउँपालिका वडा नं. ३ मा नयाँ बस्तीका ६ घर उच्च जोखिममा रहेको छ । ९ सय मेगावाट क्षमताको निर्माणाधिन अरुण तेस्रोका कारण नयाँ बस्ती जोखिममा परेको हो । वडा नं. ५ र ३ को बिचमा पर्ने फ्याक्सिन्दामा अरुण तेस्रोको बाँध स्थल निर्माण भइरहेको छ । जसका कारण नजिकै रहेको नयाँ बस्ती जोखिममा परेको हो ।
अरुण तेस्रोले नदी कटान र डाइभर्सन गरेपछी नजिकैको बस्ती चिरा पर्न थालेको छ । हरेक बर्खायाममा जमिन चिरा परेर पहिरोको उच्च जोखिममा छन् नयाँ बस्ती । सुरुङ मार्ग निर्माणका लागि गरिएका विष्फोट र ब्लास्टिङले गर्दा जमिन कम्जोर बन्दै गएपछी बर्खायाम सुरु भएपछी धाँजा फाट्ने गरेको उपेन्द्र राईले बताउनु भयो ।
२०७७ साल देखि पहिरो जान थालेपछी तत्कालिन समयमा नै भुगर्वविदहरुको अनुसन्धानसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाए पनि हालसम्म कुनैपनि प्रक्रिया अघि नबढेको पृथीमान राईले बताउनु भयो । बर्खायाम लागेसंगै पहिरो जाने र धाँजा फाट्ने गरेकाले कुनबेला बिपत्ति आउने हो, टुंगो नभएको रुकमान राईले बताउनु भयो ।
नदीबाट केही माथिसम्म अरुण तेस्रोले अधिग्रहण गर्ने गरी सिमा निर्धारण गरेको छ । निर्धारित जग्गाधनीहरुलाई मुआब्जासमेत वितरण गरीसकेको छ । तर सो स्थान भन्दा करिब ८ सय मिटर माथिसम्म आयोजनाका कारण असर पुगेको छ । क्षति पुगेका स्थानीयले भने हालसम्म आयोजनाबाट क्षतिपुर्ति तथा मुआब्जा पाउन नसकेको लोक बहादुर राईले बताउनु भयो ।
अरुण तेस्रोले आयोजना सम्पन्न गर्नै लाग्दासमेत प्रभावित परिवारलाई राहत तथा क्षतिपुर्ति दिन आलटाल गरिरहेको छ । घर जग्गा नै जोखिममा परेपछी उठिबास लाग्ने चिन्ता स्थानीयलाई रहेको लिला बहादुर राईले बताउनु भयो ।
स्थानीयलाई क्षति पुगेको र उचित क्षतिपुर्तिको पटकपटक माग गर्दा पनि सुनुवाई नहुने गरेको वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो ।
अरुण तेस्रो आयोजनाबाट प्रभावित भएकाहरुले क्षतिपुर्ति नपाउने साथै गरिएका मागहरुको सुनुवाई नहुने यो नौलो विषय होइन । क्षतिपुर्तिको माग गर्दै प्रभावित जनताले पटकपटक आन्दोलन गर्नुपरेको ताजा घटनाहरु छन् । निर्माण सम्पन्न हुनै लाग्दा आयोजनाले स्थानीय प्रभावितलाई दिनुपर्ने क्षतिपुर्ति तथा राहतका लागि सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।
२. मकालुका याम्फू समुदायले (इक्साम्माङ) बाली पुजा मनाए
मकालु गाउँपालिकाका याम्फू किराँत समुदायले इक्साम्माङ अर्थात् बाली पुजा गर्दै आएका छन् । हरेक वर्ष यो समुदायले उक्त पुजा सामुहिक रुपमा गर्दै आएका छन् । यस वर्ष पनि उक्त समुदायले मकालुका विभिन्न वडाका टोलहरुमा इक्साम्माङ भव्यताकासाथ मनाएका छन् । याम्फू समुदायमा अन्नबाली लगाइसके पश्चात् उभौलीको समयमा यो पुजा गर्ने गरिन्छ ।
इकको अर्थ खोरिया र साम्माङको अर्थ पुजा वा भोज भन्ने रहेको वडा नं. ३ का बिरेन्द्र खाराले जानकारी दिनुभयो । पछिल्लो समय यो पुजा गर्ने क्रममा विभिन्न समस्या तथा विकृतिहरुसमेत हुने गरेकाले टोल टोलमा पुजा गर्ने गरिएको हो । यो पुजा चैत महिना सुरु भएयता अन्यसम्ममा गर्ने प्रचलन छ । विशेष गरी शनिबार र मंगलबारको अवसर पारेर पुजा गर्ने चलन रहेको वडा नं. ३ गोलेचौरका बिन्द्र कुमार राईले बताउनु भयो ।
विभिन्न टोलबाट पुजाका सामग्री साथै पुख्र्यौली परम्परा अनुसार ढोल, झ्याम्टा र पुजाका प्रसाद तथा सगुनहरु लिएर पुजा स्थलमा स्थानीयहरु सहभागी हुने गर्दछन् । किराँत समुदायको बाहुल्यता रहेको मकालु गाउँपालिकामा गाउँपालिका कार्यालयले स्थानीय बिदासमेत दिएको थियो । याम्फू किराँत समुदायले बाली पुजालाई स्थानीय पर्वको रुपमा मनाउँदै आएकाले विदा दिने गरिएको मकालु ३ का वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो ।
३. मकालुमा १०८ जना दाँतका बिरामीलाई उपचार
मकालु गाउँपालिका वडा नं ५ नुममा दाँत सम्बन्धी समस्या भएकाहरुलाई निशुल्क दन्त शिविर सञ्चालन गरिएको छ । डाक्टर सशांक ताम्राकारको टोली ट्राभल क्याम्पले शिविर सञ्चालन गरेको हो । नुम प्राथमिक स्वास्थ्य केन्द्रमा चैत्र १८ गते गरिएको शिविरमा १ सय ८ जना दन्त बिरामीहरुको सहभागिता रहेको थियो ।
जसमध्ये ४० जना बिरामीको उपचार गरिएको छ भने अन्य बिरामीलाई दाँतको हेरचाह, सुरक्षा तथा स्वास्थ्य राख्नको लागी परामर्श दिइएको थियो । साथै शिविरमा उपचार गर्न सम्भव नभएका बिरामीहरुलाई अस्पताल गएर उपचार गर्न सल्लाह दिएइएको थियो । डाक्टर ताम्राकारको ट्राभल क्याम्प टोलीले यसअघि पाँचखपन नगरपालिकामा शिविर सञ्चालन गरेको थियो ।
४. मकालुको ३ ओटा वडाको सार्वजनिक सुनुवाई सम्पन्न
मकालु गाउँपालिकाको ३ ओटा वडाहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । संखुवासभा मल्टिमिडिया प्रा.लि. खाँदबारीको समन्वय तथा वडा कार्यालयहरुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । वडा नं. ३, ५ र ६ को सार्वजनिक सुनुवाई कार्यक्रम वडा कार्यालयको प्रांगणमा सम्पन्न गरिएको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार मकालु गाउँपालिकाको प्रत्येक वडामा सञ्चालन गरिएको पुर्वाधार योजना, कार्यक्रम तथा कार्यालयद्वारा सेवा प्रबाहको गुणस्तरियता सम्बन्धी सार्वजनिक सुनुवाई सञ्चालन गरिएको थियो । जसमा वडा नं. ५ नुममा चैत्र १८ गते, वडा नं.३ मा चैत्र २० गते र मकालु ६ मा २२ गते कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा सम्बन्धीत वडाका जनप्रतिनिधीहरु, कर्मचारीहरु, वडा माताहतका सेवाप्रदायक संस्थाहरु, संस्थाका प्रतिनिधीहरु र सेवाग्राहीहरुको उपस्थिती रहेको थियो । सम्बन्धीत सेवाप्रदायक कार्यालयहरुले चालु आर्थिक वर्षमा हालसम्म गरेका प्रगती, कार्यक्रम तथा उपलब्धीहरुको विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै सेवाग्राही र स्थानीयहरुले गुनासो, प्रश्न र सुझाब पेश गरेका थिए ।
विज्ञापन
मकालु गाउँपालिका
३ नं. वडा कार्यालय
गढी, संखुवासभा
अपिल
मकालु गाउँपालिका ३ नं. वडा स्थित “हेदाङना डिल्ली प्रसाद रंगशाला” आर्थिक अभावका कारण थलिएर बसेको तितो यथार्थ सर्वविदितै छ । समाधानको लागि विभिन्न विधि अपनाउँदा पनि केहि पार नलागेपछि अन्तत सम्पूर्ण वडाबासीहरुको आम भेला बसी जनजनमा रकम संकलन गरि समस्याको समाधान गर्ने निर्णय पारित भएकोले र आउने वर्षहरुमा फेरि ऐतिहासिक थलो हाङहोङ टेमको लागि जुट्नु पर्ने भएबाट यस वर्ष जसरी भएपनि अर्थको समस्याले थलिएर रहेको रंगशालालाई पुनर्जीवन दिनका लागि सम्पूर्ण वडाबासी, गाउँपालिकाबासी तथा देश विदेशमा रहनु हुने सम्पूर्ण महानुभावहरुमा आम भेलाको आर्थिक संकलनको परिधी भित्र रही सिद्धार्थ बैंक खाता नं. ५५५०८७०८३४३ मा खुला दिलले आर्थिक संकलन प्रक्रियामा सहभागी भई सहयोग गरी दिनुहुन मकालु गाउँपालिका ३ नं. वडा हार्दिक अपिल गर्दछ ।
बद्रि बहादुर राई
वडा अध्यक्ष
मकालु गाउँपालिका
३ नं. वडा कार्यालय गढी, संखुवासभा
यस अंकमा प्रकाशित सामाग्रीहरु हेर्ने चित्र युट्युव, फेसबुक पेज रसंखुवासभा एक्सप्रेस साप्ताहिक साथै मकालु गाउँपालिकाको फेसबुक पेजमा भिडियो संस्करणमा हेर्न सक्नु हुनेछ ।