काठमाण्डौ । काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरूले आज २३औं दिन सडकमै रक्तदान गरेका छन् ।
सडकमै नाचगानसहित कहिले सिठी बजाउने, कहिले सडकमै सुत्ने, कहिले कालो मास्क लगाउने जस्ता विरोध शैलीसहित सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज सडकमै रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । शिक्षकहरूले आज बबरमहल–नयाँ बानेश्वर सडक खण्डमा रक्तदान कार्यक्रम गरेका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका शिक्षकहरू ऐन लिएर मात्रै विद्यालय फर्कने अडानमा छन् । सरकारले वैशाख महिनाभित्र शिक्षकहरूको माग पूरा गर्नेगरी विद्यालय शिक्षा विधेयक पनि पारित गर्ने आश्वासन दिएको छ । तर शिक्षकहरू सरकारको आश्वासनप्रति विश्वस्त हुन सकिरहेका छैनन् ।
शिक्षक महासङ्घको अगुवाइमा भइरहेको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाण्डौमा भेला हुँदा सामुदायिक विद्यालयहरू बन्द छन् ।