लोभ देखाउँदै बरुणमा हाइड्रो निर्माण गर्न कम्पनीको निरन्तर दबाव

संखुवासभाको भोटखोला गाउँपालिका वडा नं.४ मा अवस्थित बरुण नदिमा हाइड्रो पावर निर्माण गर्न निर्माण कम्पनीले निरन्तर दबाव दिदै आएको छ । यसअघि नै विभिन्न माध्यमबाट स्थानीयले वरुणमा हाइड्रो निर्माण गर्न असहमति जनाउदै आएको थियो ।

भोटखोला गाउँपालिकाले आम भेलामार्फत २०८० सालमा नै बरुण नदिमा हाइड्रो निर्माण गर्न नहुने रायसहित सम्बन्धीत मन्त्रालयलाई पत्राचार गरेको थियो । त्यसयता उक्त विषय सुनसान बनेको थियो । तर यहीँ जेष्ठ २५ गते वडा नं.४ लाई वडा समितिको राय पेश गर्न भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेद्धारा हस्ताक्षरित पत्र बाहिरिए संगै यो विषय पुन चर्चामा आएको हो । उक्त पत्रमा निर्माण कम्पनी र गाउँपालिका अध्यक्षको तोक आदेश अनुसार यथासिघ्र राय पेश गर्न उल्लेख गरिएको छ ।

यसअघि नै स्थानीय नागरिक, राजनितिक दल र स्थानीय सरकारले नै लिखित रुपमा वरुण नदी पवित्र धार्मिक स्थल भएको र हाइड्रो निर्माण गर्दा धार्मिक रुपमा नै ठूलोे क्षति पुग्ने निर्णय पेश गरेपनि निर्माण कम्पनीले निरन्तर हाइड्रो निर्माणका लागि दबाव दिईरहेको छ । १ सय ३२ मेगावाट क्षमताको निर्माण हुने हाइड्रोबाट स्थानीयलाई लाभ हुने गरी सामाजिक उत्तरदायित्व अन्तर्गत वरुण धाम निर्माण गर्ने एम्पीक इनर्जी प्रा.लि.ले लोभ देखाउँदै आएको छ ।

तर शुक्रबार खाँदबारीमा बरुण धाम संरक्षण नागरिक समिति संखुवासभाले बरुण नदि जोगाऔँ, धार्मिक स्थल बचाऔँ भन्ने नाराका साथ बरुण नदिमा निर्माण हुन लागेको हाइड्रोपावरको विरोधमा पत्रकार सम्मेलन गरेको छ । यस अघि पनि स्थानीय नागरिक र अगुवाहरुले स्थलगत रुपमा विरोध गरेको थियो भने नियामक निकायहरुमा खबरदारी गरिसकेको थियो ।

धार्मिक आस्थाको धरोहर बरुण नदिमा हाइड्रोबाट बिजुली निकाल्ने काम भएमा भोटखोला क्षेत्रको सिंगो पहिचान मात्र नभई जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रको सौन्दर्यता र पहिचानमा खलल पुग्ने र वातावरणीय क्षेत्रमा पनि नकारात्मक प्रभाव पर्ने स्थानीयको राय छ । शिवधारा र दुधकुण्डबाट आउने शुद्ध र पवित्र पानी बहने अरुण र बरुणको संगम स्थलमा स्नान गरि मनोकामना सिद्ध हुन विश्वास रहि आएको छ ।

स्थानीयको हित विपरित धार्मिक क्षेत्रलाई असर गर्ने गरि निर्माण गर्ने हाइड्रोपावर कम्पनी विरुद्ध कडा प्रतिबाद गर्ने स्थानीयले जनाएका छन् । उक्त हाइड्रो निमार्ण स्थल संरक्षित क्षेत्र राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । जहाँ लोपोन्मुख काँडे भ्याकुर, जीवजन्तु लगायत जडिबुटि रहेकाले हाइड्रो निर्माण गर्न नहुने स्थानीयको राय छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search