मकालु गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मकालु गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको केन्द्र नुम बजारमा कार्यक्रम सम्पन्न भएको हो । मकालु गाउँपालिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको सार्वजनिक सुनुवाई कार्यक्रम चालु आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम र सेवा प्रवाहको विषयमा केन्द्रित रहेको थियो । मकालुका ६ ओटै वडामा कार्यक्रम सम्पन्न भए पश्चात गाउँपालिकाको कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

मकालु गाउँपालिकाको आयोजना तथा बगैंचा मिडिया एण्ड एड्भर्टाइजिङ प्रा.लि. खाँदबारीको सहजीकरणमा भएको कार्यक्रममा स्थानीय सेवाग्राही, कर्मचारी, जनप्रतिनिधिहरु र राजनितिक दलका प्रमुखहरुको उपस्थिति रहेको थियो । गाउँपालिकाले सञ्चालन गरेको योजना, कार्यक्रम तथा प्रगति विवरण स्वास्थ्य शाखा प्रमुख छिङ दोर्जी लामाले प्रस्तुत गर्नु भएको थियो भने परामर्शदाताको रुपमा बगैंचा मिडियाका नविनकला जैरुले सार्वजनिक सुनुवाई सर्वेक्षण फारमबाट प्राप्त सुझावलाई प्रतिवेदनको रुपमा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले यस वर्ष गाउँपालिकाले वेरुजु फच्र्यौटमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा आभार प्रकट गरेका थिए । मकालु गाउँपालिकाले यस वर्ष ११ करोड १८ लाख ४१ हजार ९ सय ६३ रुपैंया ३० पैसा वेरुजु फच्र्यौट गरेको हो । २०७४÷०७५ देखि गत वर्षसम्म २० करोड ७ लाख ३ हजार ८ रुपैंया बेरुजु रहेको थियो । गाउँपालिकाले यसै वर्ष मात्रै करिव ५५ प्रतिशत वेरुजु फच्र्यौट गरेको हो । तत्कालै ३ करोड बढीको बेरुजु फच्र्यौटको अन्तिम तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । जिल्लाका १० स्थानीय तह मध्ये वेरुजु कम हुनेमा मकालु गाउँपालिका दोस्रो स्थानमा छ ।

वेरुजु फच्र्यौटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गाउँपालिकाले दुई जना कर्मचारीलाई सम्मान गरेको छ । मंगलबार सम्पन्न १२ औं गाउँसभाको अवसरमा लेखा अधिकृत अरविन्द झा र प्राविधिक सहायक सव इन्जिनियर गायत्री घिमिरेलाई सम्मान गरिएको हो । गाउँपालिकाले उत्कृष्ट कर्मचारी वर्षको रुपमा स्वास्थ्य शाखा प्रमुख छिङदोर्जी लामालाई सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई जनही १ लाख रुपैंया र सम्मान पत्रद्धारा सम्मान गरिएको हो ।

कार्यक्रममा सेवाग्राही तथा सहभागीहरुले गाउँपालिकाले गरिरहेका योजना तथा सेवा प्रवाहको विषयमा जिज्ञासा साथै सुझाव पेश गरेका थिए । उठेका सवाल माथि वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर दर्जी, उपाध्यक्ष मनकला राई र अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले प्रष्ट पार्नु भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search