खोटाङ । भारतको मेघालयमा रहेको कोइलाखानीमा भएको विस्फोटका कारण ज्यान गुमाएका खोटाङका तीन जनाको शव ल्याउन समस्या भएको छ । दुर्घटनामा अरू दुई जना गम्भीर घाइते भएका छन् भने एक जना अझै बेपत्ता छन् ।
मेघालयमा सञ्चालित अवैध कोइलाखानीमा यही माघ २२ गते विस्फोट हुँदा खोटाङको बरापोखरी गाउँपालिका वडा नम्बर १ का २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको ज्यान गएको थियो । पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ हुन् ।
यस्तै हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिमका ५० वर्षीय रत्न राई बेपत्ता हुनुभएको छ । विस्फोटपछि बेपत्ता भएका राईको कोइलाखानीभित्रै जलेर ज्यान गएको हुनसक्ने अनुमान छ । बरापोखरी गाउँपालिका–१ सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते हुनुभएको छ ।
उहाँहरूको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सँगै काम गर्ने खोटाङकै वालम्पाका ताराबल मगरले बताउनुभयो । विस्फोटमा ज्यान गुमाएका युवाको शव मेघालयबाट नेपाल ल्याउनका लागि परिवारका सदस्यलाई कठिनाइ भएको छ ।
शव स्वदेश ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियान शुरू गरिएको स्थानीयवासी प्रकाश बञ्जराले जानकारी दिनुभएको छ ।










