काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको स्पष्ट बहुमतले नेपालको राजनीतिक अस्थिरता घटाउन सक्ने निष्कर्ष निकालेको छ । चुनावी नतिजाले नीतिगत स्थिरता, सुशासन र आर्थिक सुधारका लागि नयाँ अवसर दिने सम्भावना रहेको फिचले जनाएको छ ।
फिचका अनुसार रास्वपाको जीतले बारम्बारको अप्राकृतिक गठबन्धन र सरकार परिवर्तनको शृङ्खला रोकिने सम्भावना बढेको छ, जसले लगानीकर्ताको मनोबल बढाउन सक्छ । तर रास्वपाले घोषणापत्रमा राखेको ७ प्रतिशत आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्याउने लक्ष्यलाई फिचले ‘महत्त्वाकांक्षी’ भनेको छ ।
फिचको अनुमानामा सन् २०२७ सम्म साढे ४ प्रतिशत मात्र रहने छ । फिचले नयाँ सरकारका लागि ‘कार्यान्वयन क्षमता’ नै मुख्य जोखिम रहेको चेतावनी दिएको छ ।
कमजोर सरकारी प्रभावकारिता र नियामक गुणस्तरले सुधारका काममा अवरोध पुर्याउन सक्ने भन्दै व्यावसायिक वातावरण सुधार, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणमा ठोस काम नै निर्णायक हुने फिचले स्पष्ट पारेको छ । सन् २०२५ नोभेम्बरमा फिचले नेपालको क्रेडिट रेटिङ ‘बीबी माइनस’ कायम राखेको थियो ।











