मध्यपूर्वमा चलिरहेको युद्ध १५औँ दिनमा झन् चर्किँदै गएको छ । इजरायल, इरान र क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र हुँदा मानवीय तथा आर्थिक सङ्कट गहिरिँदै गएको छ ।
दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जना स्वास्थ्यकर्मी मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानमा अहिले सम्म ७ सय ७३ भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
यसैबीच हिजबुल्लाह समूहले इजरायलको उत्तरी क्षेत्रमा ड्रोन तथा रकेट आक्रमण गरेको दाबी गरेको छ भने इरानले पनि इजरायलमाथि मिसाइल प्रहारलाई निरन्तरता दिएको बताइएको छ । खाडी क्षेत्रमा पनि तनाव बढेको छ ।
बहराइनले युद्ध शुरू भएयता १ सय २४ मिसाइल र २ सय ३ ड्रोन अवरोध गरेको जनाएको छ । कतार, साउदी अरेबिया, कुवेत र यूएईले पनि आफ्ना क्षेत्रमा भएका आक्रमण विफल पारिएको बताएका छन् । यसैबीच अमेरिकी सेनाले इरानको रणनीतिक खार्ग टापुमा आक्रमण गरेपछि विश्व ऊर्जा बजारमा ठूलो असर पर्ने अनुमान गरिएको छ । कच्चा तेलको मूल्य फेरि प्रतिव्यारेल १ सय डलरभन्दा माथि पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबनानका पीडितका लागि झण्डै ३० करोड डलर बराबरको आपतकालीन सहायता कार्यक्रम घोषणा गर्दै युद्धरत पक्षसँग तत्काल युद्धविराम गर्न आग्रह गर्नुभएको छ ।











