काठमाण्डौ । गैरआवासीय नेपाली सङ्घ (एनआएरनए) यूएईले इरानी आक्रमणका तस्वीर तथा भिडिओ खिचेर सामाजिक सञ्जालमा नराख्न त्यहाँ रहेका नेपालीहरूलाई चेतावनी दिएको छ । सङ्घका अध्यक्ष भीम मल्ल ठकुरीका अनुसार आक्रमणसम्बन्धी सामग्री सामाजिक सञ्जालमा राख्नेहरू धमाधम पक्राउ परेपछि यो चेतावनी जारी गरिएको हो ।
यूएइको खलीज टाइम्स दैनिकका अनुसार अबुधाबीमा मात्रै ४५ जना विदेशी नागरिक पक्राउ परेका छन्, जसमा एक नेपाली पनि रहेको उल्लेख छ । यूएईमा यस्तो सामग्री शेयर गरेमा ४० देखि ८० लाख रुपैयाँबराबर जरिवाना र एकदेखि दुई वर्षसम्म कैद हुन सक्छ ।
दुबई, कतार र बहराइनमा पनि यस्तै कारबाही भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका र इजरायलको आक्रमणपछि इरानले यूएई, कतार, कुवेत, बहराइन र साउदी अरेबियासहितका देशमा आक्रमण गरिरहेको छ, जहाँ झन्डै १८ लाख नेपाली कार्यरत छन् । परराष्ट्र मन्त्रालयले पनि खाडीमा रहेका नेपालीहरूलाई यस संवेदनशील समयमा संयमित र सचेत रहन अनुरोध गरेको छ ।











