आँखा उपचारमा सर्वसाधारणको पहुँच बढ्दै

काठमाण्डाै । बितेको एक वर्षमा नेपालमा साढे ४ लाखभन्दा धेरै आँखाका बिरामीको निःशुल्क उपचार भएको छ । नेपाल नेत्रज्योति सङ्घको सञ्जालभित्र आबद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरूमार्फत ४ लाख ५४ हजार ९४२ जना आँखाका बिरामीहरूको निःशुल्क उपचार गरेको सङ्घका अध्यक्ष प्रा. डा. चेजराज पन्तले जानकारी दिनुभयो ।

उहाँकाअनुसार एक वर्षमा ३३ लाखभन्दा धेरै बिरामीको आँखा परीक्षण गरी २ लाख ६६ हजारभन्दा धेरैकाे शल्यक्रिया गरिएको छ । २५ हजार ५६५ जनाको निःशुल्क शल्यक्रिया पनि गरिएको छ ।

उच्चस्तरीय आँखा उपचार सेवाका कारण भारत, बङ्गलादेश र भूटानलगायतका छिमेकी देशका नागरिक पनि नेपालमा उपचारका लागि आउने क्रम बढिरहेको छ । तर आँखा उपचारमा ठूलो प्रगति भए पनि अझै धेरै नेपाली जनचेतनाको अभावमा उपचारबाट वञ्चित रहेका अध्यक्ष प्रा. डा. चेजराज पन्तले बताउनुभयो ।

सन् २०३० सम्ममा नेपालको अन्धोपनको दर अहिलेको शून्य दशमलव २८ प्रतिशतबाट शून्य दशमलव २० प्रतिशतमा झार्ने लक्ष्य भेटाउन पनि जनचेतनाका कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search