रोशीको बाढीले बगाएर एक जनाको ज्यान गयो : अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास

काठमाण्डौ । हिजो बेलुका पानी परेपछि काभ्रेको रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको ज्यान गएको छ ।

बाढीले बगाएर रोशी गाउँपालिका-७ का ४० वर्षका कुन्साङ तामाङको ज्यान गएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ । कार्यालयका सुपरभाइजर तामाङ रातको समयमा निर्माणाधीन बीपी राजमार्गमा काम गर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

बाढीले एउटा मोटरसाइकल र अर्को एउटा जीप पनि बगाएको छ । यसैबीच अवरुद्ध बीपी राजमार्ग खुलाउन प्रयास थालिएको छ । राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकाका विभिन्न ठाउँमा लेदोसहितको बाढी/पहिरोका कारण गाडी चल्न सकेका छैनन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढीले राजमार्गको विभिन्न ठाउँमा यातायात अवरुद्ध भएको हो ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले बाढीको सतह घट्न थालेकाले आज बिहानदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने प्रयास थालिएको छ । गएको वर्षको बाढीपहिरोका कारण त्यस क्षेत्रको सडक क्षतिग्रस्त भएपछि खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search