हर्मुज जलमार्गमा जहाजको सहज आवतजावतका लागि संयुक्त राष्ट्रसंघले टास्क फोर्स बनायो

संयुक्त राष्ट्र संघले हर्मुज जलमार्गमा जहाजको सुरक्षित आवातजावतका लागि टास्क फोर्स बनाएको छ । चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार संयुक्त राष्ट्रसंघका वरिष्ठ लजिस्टिक्स अधिकारी जर्ज मोरेइरा दा सिल्वाको नेतृत्वमा टास्क फोर्स बनाएको हो ।

यसको मुख्य उद्देश्य खाद्य र त्यससँग सम्बन्धित कच्चा पदार्थ बोक्ने जहाजलाई सुरक्षा दिनु रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । इरानका लागि यूएन राजदूत अली बहरेनीले इरान मानवीय सहायतासँग सम्बन्धित जहाजलाई आवातजावतका लागि सहयोग गर्ने कुरामा सहमति जनाएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले द्वन्द्वको दिगो समाधानका लागि प्रयास जारी राख्ने प्रतिबद्धता जनाउँदै तत्काल समुद्री चुनौती समाधान गर्न आवश्यक देखेर कार्यदल गठन गरेको बताउनुभएको छ । यस कार्यदलले जलमार्ग क्षेत्रमा जहाजहरूको सुरक्षाका उपायहरू खोज्नेछ ।

यसैबीच, स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय निकायका अनुसार दुबईबाट पठाउने राहत सामग्री पुनः नियमित बन्दै गएको छ । मध्यपूर्वमा इजरायल र लेबनानमा रहेको हिजबुल्लाहबीचको लडाइँ तीव्र बन्दै जाँदा चिन्ता बढेको छ । लेबनानमा झन्डै १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जुन त्यहाँको कुल जनसङ्ख्याको झन्डै २० प्रतिशत हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search