प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग वैशाखको दोश्रो हप्तादेखि हुने

काठमाण्डौ । नेपाल भलिबल सङ्घ (एनभीए) को आयोजनामा दशौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आउँदो वैशाखको दोश्रो हप्ता हुने भएको छ । आउँदो वैशाख १० गतेदेखि १९ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने नेपाल भलिबल सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी जम्मा १४ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपीएफ, लुम्बिनीको खिल्जी युवा क्लब, पश्चिम रुकुम, कोशी प्रदेश र बुढानिलकण्ठ क्लब सहभागी हुनेछन् । महिलातर्फ न्यू डायमण्ड, नेपाल प्रहरी, एपीएफ, सुदूरपश्चिम, एभरेष्ट क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राखिएको छ । विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यो भलिबल खेलकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार हो ।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि झन्डै १ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साथै, हरेक टोलीले बढीमा ३ जना विदेशी खेलाडी सहभागी गराउन पाउने व्यवस्था गरेको नेपाल भलिबलले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search