६ हप्ता लामो युद्ध अन्त्य गर्ने प्रयासमा अमेरिका र इरानका प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेका छन् । सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्चस्तरीय वार्ता गर्नका लागि दुई देशका प्रतिनिधि इस्लामावाद आएका हुन् । दुवै पक्षका प्रतिनिधि इस्लामावाद आए पनि यो वार्ता प्रत्यक्ष भने हुनेछैन ।
इस्लामावादको जिन्हा सम्मेलन केन्द्रमा दुबै पक्षका प्रतिनिधिहरु बेग्ला–बेग्लै ठाउँमा बस्ने र पाकिस्तानी मध्यस्थकर्ताहरुले एक–अर्काका सन्देश दुवैपक्ष समक्ष पुर्याउने बीबीसीले जनाएको छ । अमेरिकाबाट उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाँइ जरेद कुस्नर र पश्चिम एशिया दूत स्टिभ विटकफ सहभागी छन् ।
इरानबाट सभामुख महोम्मद बगेर गालीबाफले नेतृत्व विदेशमन्त्री अब्बास अराग्चीसहित विशिष्ट अधिकारी इस्लामावाद आएका छन् । फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि शुरू भएको युद्ध मध्यपूर्वका अरू देशमा पनि फैलिएको छ ।
गएको मङ्गलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताका लागि युद्धविराम गर्ने प्रस्तावमा हस्ताक्षर गरेपछि यो वार्ता हुन लागेको हो । अहिले इरान शान्त रहे पनि इजरायलले लेवनानमा आक्रमण जारी राखेको छ । लेवनानमा आक्रमण नरोकिएको भन्दै इरानले हर्मुज जलमार्गमा अवरोध कायम राखेको छ ।
आज हुने वार्तामा इरानले आणविक हतियारको महत्त्वाकांक्षा त्याग्नुपर्ने, हर्मुज मार्ग नियमित सञ्चालन गर्नुपर्नेलगायत माग अमेरिकाले अघि सारेको छ । इरानले आफ्नो देशमा आक्रमण बन्द गर्नुपर्ने, युद्धको क्षतिपुर्ति पाउनुपर्ने, अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा हुनुपर्ने, हर्मुजमा ओमानसँग मिलेर शुल्क उठाउन पाउनुपर्नेलगायत माग राखेको छ ।
पाकिस्तानले इस्लामाबादमा आज हुन लागेको शान्ति वार्तामा आफ्नो भूमिकालाई लिएर उत्सव मनाइरहेको छ । राजधानीका सडकहरूमा इस्लामाबाद वार्ता लेखिएका डिजिटल बोर्डहरू देख्न सकिन्छ । जसमा अमेरिका र इरानका झन्डासहित त्यसको बीचमा पाकिस्तानको प्रतीक चिन्ह राखिएको छ ।
देशले शान्ति वार्तामा आफ्नो भूमिकाको दर्साउन दुई दिने बिदा पनि घोषणा गरेको छ । संसारभरिका देशहरू लडाइँको अन्त्य र होर्मुज मार्ग खुला भएको हेर्न उत्सुक छन् । पाकिस्तानको लागि भने मध्यस्थता गरेकोमा खुशी मनाउनेसँगै छिमेकी इरानसँग युद्धमा तानिएमा भोग्नुपर्ने सम्भावित खतरा रोक्ने मार्ग पनि बनेको छ । अमेरिका र इरानबीच चलिरहेको युद्ध अन्त्य गर्दै शान्ति स्थापनामा सहयोग गर्न पाकिस्तानले दुई हप्ताको युद्धविरामको निम्ति मध्यस्थता गरेको थियो ।










