काठमाण्डौ । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना रहे पनि आज र भोलि कोशीदेखि बागमती प्रदेशका तराई क्षेत्रमा गर्मी केही कम हुनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोँचहरूमा भने तातो दिन हुने महाशाखाले जनाएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका साथै कोशी प्रदेशको तराईका थोरै ठाउँहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।
भोलि कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।











