काठमाण्डौ । अमेरिका र इरानबीच हुने भनिएको दोस्रो चरणको वार्ता अनिश्चित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित दोस्रो चरणको वार्ताका लागि पाकिस्तान जाने तयारीमा रहेका आफ्ना प्रतिनिधिलाई अन्तिम समयमा रोकेर यात्रा रद्द भएको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत कार्यभारको चाप तथा इरानी नेतृत्वभित्र देखिएको असमझदारीका कारण यात्रा रद्दको निर्णय गरिएको उल्लेख गर्नुभएको छ ।
ट्रम्पले अमेरिकासँग वार्तामा सबै आवश्यक शक्ति रहेको बताउँदै यदि इरान पक्षले संवाद गर्न चाहन्छ भने सिधै सम्पर्क गर्न सकिने बताउनुभएको छ । उहाँले आफ्ना ज्वाइँ जेरेड कुश्नर र विशेष दूत स्टिभ विटकोफको पाकिस्तान भ्रमण स्थगित गरिएको जानकारी गराउनुभएको बीबीसीले जनाएको छ ।
यस्तै पाकिस्तानमा रहेका इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि पाकिस्तानको औपचारिक भ्रमण सम्पन्न गरी इस्लामावाद छोड्नुभएको छ । अमेरिका र इरानबीचको तनावपूर्ण अवस्थाका बीच फारसको खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
अमेरिका र इजरायलले गएको फेब्रुअरी २८ तारिखमा इरानमाथि संयुक्त रूपमा आक्रमण शुरु गरेका थिए, जसको प्रतिक्रिया स्वरूप इरानले हर्मुज जलमार्ग भएर हुने इन्धन ढुवानीमा प्रतिबन्ध लगाएको छ ।
पाकिस्तानले मध्यपूर्वको युद्ध अन्त्यका लागि प्रयास गर्दै आएको छ । यसअघि पहिलो चरणको वार्तामा कुनै प्रगति भएको थिएन ।











