काठमाण्डौ । आज मौसम बदली भएको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न ठाउँमा मौसम बदली भएको हो । आज र भोलि सबै प्रदेशको पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
काठमाण्डौ उपत्यकामा आज बिहान छिटपुट वर्षा भएको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बागमती प्रदेशको एक/दुई ठाउँमा पानी परिरहेको छ । त्यस्तै लुम्बिनी प्रदेशको तराई भागका एक/दुई ठाउँमा पनि आज मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी अरू क्षेत्रमा पनि हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ । गएराति कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । तल्लो वायुमण्डलमा पूर्वी वायुको समेत प्रभाव देखिएकोले केही ठाउँमा पानी परेको महाशाखाले जनाएको छ ।
आज पनि तराई क्षेत्रमा भने गर्मी कायमै छ । यसबीचमा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा वर्षाको गतिविधि बढ्न सक्ने देखिएकाले पानी परेपछि केही शीतल महसुस हुनेछ ।
अहिले प्रि-मनसुनको समय भएकाले पानी र हिउँसँगै मेघ गर्जन चट्याङसहित असिना र हावाहुरीको पनि सम्भावना हुने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।











