काठमाण्डौ । अवरुद्ध बीपी राजमार्ग आज खुल्ने सम्भावना कम रहेको छ । गएराति परेको पानीले विभिन्न ठाउँमा डाइभर्सन बगाएका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । शनिबार दिउँसोदेखि अवरुद्ध सडक तीन दिनपछि सोमबार खुलेको थियो । त्यस क्रममा बनाइएका डाइभर्सन गएराति रोशी खोलामा आएको बाढीले बगाएको हो ।
बीपी राजमार्गको रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा गाडीहरू रोकिएका छन् ।
धुलिखेलका रोकिएका गाडीलाई चरिकोट हुँदै पठाइसकिएको प्रहरीले जनाएको छ । मङ्गलटारमा होल्ड भएका ४ वटा गाडीका यात्रुलाई तेमालको सडक हुँदै धुलिखेलतर्फ पठाउने तयारी छ । बीपी राजमार्ग खुलाउन प्रयास भइरहेको तर आज खुल्ने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
मौसममा सुधार आई सडक मार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशन गरी बाटो खुलेको जानकारी गराउने प्रहरीको भनाइ छ । यात्रु र गाडीका चालकलाई सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।










