पाँचखपन । पछिल्लो समय स्थानीय तहहरूमा भुक्तानी प्रक्रियामा गम्भीर समस्या देखिन थालेको छ । स्थानीय तहहरूले प्रयोग गर्दै आएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) SUTRA प्रभावकारी रूपमा नचल्दा दैनिक सेवा प्रवाह प्रभावित हुँदै आएको छ ।
विशेषगरी जेन्जी आन्दोलन पश्चात् प्रणालीमा देखिएको प्राविधिक अवरोधका कारण भुक्तानी प्रक्रिया सुस्त मात्र होइन, कतिपय स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको स्थानीय तहहरूले जनाउँदै आएको छ । यसले गर्दा सेवाग्राहीहरू आवश्यक भुक्तानी नपाएर हैरानीमा परेका छन् ।
लेखा शाखामा दैनिकजसो सेवाग्राहीको भीड बढ्दै गएको छ भने ढिलाईका कारण उनीहरू आक्रोशित हुँदै कर्मचारीसँग विवाद गर्ने, रिसाउने जस्ता घटना पनि बढिरहेका छन् । सिस्टम नै राम्रोसँग नचल्दा काम गर्न निकै गाह्रो भएको छ, तर दोष हामीले खानु परेको छ, एक कर्मचारीले गुनासो गरे ।
कर्मचारीहरूका अनुसार SUTRA प्रणाली पटक–पटक ह्याङ हुने, डाटा लोड नहुने तथा भुक्तानी प्रक्रिया पूरा नहुने समस्या देखिएको छ । प्राविधिक समस्या समयमै समाधान नहुँदा स्थानीय तहको वित्तीय व्यवस्थापनमा समेत असर परेको छ ।











