काठमाण्डौ । आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक वर्ष मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिन्छ ।
सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी देश नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षधरको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो ।
घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्धता जनाइएको थियो । यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’रहेको छ ।
युनेस्कोले यस वर्षको कार्यक्रम जाम्बियाको लुसाकामा दुई दिन विभिन्न कार्यक्रम गरी मनाउँदैछ । त्यस्तै दिवसको अवसरमा नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासङ्घले अन्तर्क्रियासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।
यसैबीच नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिमजस्ता कारणले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि देशमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दो क्रममा रहेको देखिनु गम्भीर चिन्ताको विषय रहेको बताउनुभएको छ ।
पछिल्लो समय सरकारले गरेको सरकारी विज्ञापनमा विभेदपूर्ण व्यवहार, लोककल्याणकारी विज्ञापनको सङ्कुचन र अभिव्यक्ति स्वतन्त्रतामाथिकै अङ्कुशका प्रक्रियाहरू हुन भन्ने महासंघको बुझाइ रहेको अध्यक्ष शर्माले उल्लेख गर्नुभएको छ ।











