काठमाण्डौ । बेलायतले हर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रिय मिसनमा ड्रोन, टाइफुन लडाकु विमान, युद्ध पोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ ।यस अभियानका लागि बेलायतले झन्डै ११५ मिलियन पाउण्ड अर्थात् १४ अर्ब रुपैयाँ बराबरको अतिरिक्त सुरक्षा बजेटसमेत छुट्याएको अल जजिराले जनाएको छ ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दाबी गर्दै अमेरिका शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताउनुभएको छ । यस्तै, इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा १ सैनिक र २ स्वास्थ्यकर्मीसहित १३ जनाको ज्यान गएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
हिजबुल्लाहले पनि दक्षिण लेबनानमा इजरायली सेनामाथि आक्रमण गरेको दाबी गरेको छ । यस समूहले ड्रोन, रकेट तथा मिसाइल प्रयोग गरी इजरायली सैन्य उपकरण र सैनिकलाई निशाना बनाएको जनाएको छ ।
यस्तै, अमेरिकी संसदमा डेमोक्रेटिक सांसदहरूले इरान युद्ध अन्त्य गर्न प्रस्तावलाई समर्थन गर्न रिपब्लिकन सांसदहरूलाई आग्रह गरेका छन् । मध्यपूर्व युद्धका कारण अमेरिकी नागरिकले उच्च इन्धन मूल्यको मार खेप्नुपरेको बहस अमेरिकी सिनेटमा उठेको छ ।











