१० महिनामा झन्डै ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशतमात्र

काठमाण्डाै । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झन्डै ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका १० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख रुपैयाँ बजेट खर्च भएको छ ।

चालू आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा ६८ दशमलव ९८ प्रतिशत अर्थात् ८ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ ।

त्यस्तै पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा २७ दशमलव ९१ प्रतिशत अर्थात् १ खर्ब १३ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च ६५ दशमलव ३० प्रतिशत छ । यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन गरेकामा अहिलेसम्म २ खर्ब ४५ अर्ब १ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ ।

वैशाख मसान्तसम्ममा सरकारको आम्दानी वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चिएको छ । चालू आर्थिक वर्षका लागि कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख बराबर आम्दानी गर्ने लक्ष्य रहेकामा सरकारले अहिलेसम्म १० खर्ब १२ अर्ब ५ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको हो ।

यो आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा पछिल्ला १० महिनामा वार्षिक लक्ष्यको ६६ दशमलव ६९ प्रतिशत अर्थात् नौ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख बराबर मात्रै असुली गरेको छ ।

त्यस्तै चालु आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले अहिलेसम्म लक्ष्यको ३३ दशमलव २८ प्रतिशत अर्थात् १७ अर्ब ७८ करोड ७६ लाख बराबर अनुदान लिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search