डोल्पाको गैरीगाउँमा मध्यरातमा बाढी : एक महिलाको ज्यान गयो, ६ जना घाइते

कालिकोट। डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा लेदोसहित बाढी आएको छ । गएरातिको बाढीका कारण एक महिलाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

लगातारको वर्षापछि धुलाखोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुङ्गासहितको बाढी गाउँमा पसेको डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिलराज गिरीले जानकारी दिनुभयो । उहाँकाअनुसार बाढीमा घाइते भएकी स्थानीय ५६ वर्षीया आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।

बाढीमा परी घाइते भएका अन्य ६ जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विकको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबाट प्रभावित एवं प्रत्यक्षदर्शी विष्णु विकका अनुसार बाढीले झण्डै १५–१६ मिटरसम्म बगाएको थियो । जसका कारण ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । बाढीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्‍याएको छ ।

डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सहकारी भवन र खाद्य गोदामसहित ७–८ वटा घरमा क्षति छ । एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search