काठमाण्डौ । तराई क्षेत्रमा अबका केही दिन गर्मी बढ्ने भएको छ । पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि तराईका छिटपुट ठाउँमा मात्रै पानी पर्ने अनुमान छ । मौसमबारेका जानकार उज्ज्वल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुने र गर्मी बढ्ने सम्भावना छ ।
काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा मौसम बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् उपाध्यायले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । ठूलो वर्षाको सम्भावना नभएकोले बाढी/पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माणसम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ ।
यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका साथै कर्णाली प्रदेशको पहाडी भाग र लुम्बिनी प्रदेशको पहाडी र तराईका थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ ।
एक/दुई ठाउँमा मात्रै ठूलो पानी पर्न सक्ने अनुमान छ । यही क्रम भोलि र पर्सिसम्म रहने महाशाखाले जनाएकाे छ । गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको थियो । विषेश गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परेको हो ।











