पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

काठमाण्डौ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका अवरुद्ध भएको तीन हप्ताभन्दा धेरै भइसकेको छ । लामो समयदेखि नाका अवरुद्ध हुँदा नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीनबीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनुभयो ।

यो नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीनको सिमाना कोदारीमा छ । सडक अवरुद्ध भएकाले चीनबाट मालवाहक सामानसहितका कन्टेनर भित्रिन सकेका छैन । भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं –२ कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा अरनिको राजमार्ग अवरुद्ध छ । यी सडक कहिलेदेखि खुल्छन् भन्ने अहिलेसम्म कुनै टुङ्गो नलागेको गिरीले बताउनुभएको छ । यस्तै पहिरोले तेह्रथुमको मध्य पहाडी लोकमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडक खण्ड पनि प्रभावित छन् ।

इलाम नगरपालिका–९ राजदुवाली मेची राजमार्गमा यातायात अवरुद्ध भए पनि यो क्षेत्रमा वैकल्पिक सडकको व्यवस्था गरिएको प्रहरीले जनाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन प्रहरीको आग्रह छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search