Ads3

अमेरिकासँगको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दाबी

अमेरिकासँगको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दाबी

भेनेजुएलाकी अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्त्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोतसाधनमाथिको स्वामित्व र सार्वभौमसत्ता कायम राख्ने दाबी गर्नुभएको छ ।

सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै रोड्रिगेजले भेनेजुएलाले आफ्ना प्राकृतिक स्रोतसाधनमाथिको अधिकार कुनै हालतमा नछाड्ने बताउनुभएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई ‘विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता’को संज्ञा दिनुभएको थियो । सम्झौताअन्तर्गत भेनेजुएलासँग रहेको झण्डै ६५ अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकी पक्षको बहुमत नियन्त्रण रहने बताइएको छ ।

रोड्रिगेजले सम्झौताको मुख्य उद्देश्य जमिनमुनि रहेका निष्क्रिय तेल स्रोतलाई उत्पादनमा ल्याएर भेनेजुएलाका नागरिकको सामाजिक तथा आर्थिक कल्याणका लागि प्रयोग गर्नु रहेको बताउनुभयो ।

भेनेजुएला सरकारका अनुसार सम्झौताअन्तर्गत निजी क्षेत्रबाट करिब एक खर्ब अमेरिकी डलर लगानी भित्र्याइनेछ । विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलाको कमजोर बनेको तेल उद्योगलाई पुनर्जीवित गर्न उक्त लगानी प्रयोग गरिने सरकारको भनाइ छ ।

तर सम्झौताको विस्तृत विवरण सार्वजनिक नभएकामा भेनेजुएलाभित्रै चिन्ता र प्रश्न उठ्न थालेका छन् । सरकार समर्थकसहित सामाजिक सञ्जालका प्रयोगकर्ताले देशको सार्वभौमसत्ता, सम्झौताबाट भेनेजुएलाले प्राप्त गर्ने लाभ र यसको राजनीतिक मूल्यबारे प्रश्न उठाएका छन् ।

भेनेजुएलाको सत्तारुढ दलले शनिबार राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै लामो समयदेखिको आर्थिक प्रतिबन्ध तथा अन्य एकपक्षीय दबाबबाट परेको असर कम गर्न सहयोग गर्ने आर्थिक उपायलाई समर्थन गर्ने जनाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्