काठमाण्डौ । अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवती जात्रा मनाईंदै छ ।
जात्राको अघिल्लो दिन रातभर जाग्राम बसेर भगवतीको महिमा गाउँने र भोलिपल्ट बिहानैदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूरजात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ ।
नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले कृष्ण जन्माष्टमीको भोलि पल्ट मनाउन शुरु गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ । अंग्रेजफौजसँग बुटवलको जितगढीमा भएको लडाईंमा युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर हरेक वर्ष सिन्दुर जात्रा गर्ने भाकल गरेको र विजयी भएपछि जात्रा मनाउन शुरु गरेको इतिहासमा उल्लेख छ ।
पाँच वटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार ठाउँमा नेपालले हार बेहोर्नु परे पनि जितगढीमा अंग्रेजफौजलाई नेपाली फौजले हराएको थियो । त्यसैको संझनामा विक्रम सम्वत् १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठि व्यवस्थापन समितिले जनाएको छ ।
झाकी र र्यालीका साथमा बजार परिक्रमा गरी रथको अघि पछि नेपाली सेना, जनप्रतिनिधि, प्रहरी, निजामती कर्मचारी, खेलाडी, भक्तजनलगायतको सहभागीता रहने गरेको छ । जात्रा अवलोकन गर्न पाल्पा, गुल्मी, स्याङजा, पर्वत, कास्की, रुपन्देही, अर्घाखाँचीलगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
भोटेकोशी बाढीका कारण यसपटक विगतमा जस्तो धुमधामका साथ विजयी जात्रा नगरी परम्परालाई जोगाउन सामान्य उत्सव मनाउने तयारी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्