काठमाण्डाै । नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अध्ययनले देखाएको छ ।ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेशनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट ? ग्लोबल हाउजिङ रिसर्च २०२६’ प्रतिवेदनअनुसार आवासको बढ्दो लागतसँगै सुरक्षित बसोबास, विपद् जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको हो ।
प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमितरूपमा धान्न कठिन हुने गरेको बताएका छन् । २२ देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने ३४ प्रतिशतमात्रै रहेको छ ।
त्यस्तै ७० प्रतिशत नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन् । विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात ४८ प्रतिशत रहेको छ ।
आवाससम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यका योजनासमेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
आवासको आर्थिक दबावकै कारण २८ प्रतिशत उत्तरदाताले स्वास्थ्योपचार ढिला गरेको वा उपचार नै नगरेको समेत बताएका छन् ।
नेपालमा आवास र मानसिक तनावबीचको सम्बन्धसमेत उल्लेखनीय देखिएको छ । ६८ प्रतिशत उत्तरदाताले आफ्नो आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावका स्रोतमध्ये एक भएको बताएका छन् । विश्वव्यापी औसत ३५ प्रतिशत रहेको छ ।
अध्ययनका लागि नेपालमा १ हजार ४०० जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो । नेपालसहित विश्वका २२ देशमा कुल ३० हजार ७५८ जना सर्वेक्षणमा सहभागी थिए ।
प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ । आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपद्को जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृतरूपमा सम्बोधन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस्