काठमाण्डौ । पालिकाको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले मुख्य राष्ट्रिय दलहरूलाई बोलाएको छ । चुनावको मिति घोषणाबारे गृह मन्त्रालयसँग एक चरणको छलफलपछि आयोगले दलहरूसँग आउँदो मङ्सिर ४ गते औपचारिक परामर्श गर्न लागेको हो ।
निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले आयोग चुनावका लागि पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ । सरकार चुनावको मिति घोषणा गर्न सकारात्मक देखिएकाले आयोग उत्साहित भएको उहाँको भनाइ छ ।
आयोगका अनुसार चुनावको कानुनी प्रक्रियाका लागि १२० दिनको अवधि आवश्यक पर्ने भएकाले मध्य मङ्सिरभित्रै मिति घोषणा भएमा आउँदो चैत मसान्तसम्म पालिकाको चुनाव गराउन सकिनेछ ।
त्यस्तै, बर्खा र चर्को गर्मी अगावै चुनाव सम्पन्न गर्न पनि छिट्टै मिति तोक्नुपर्ने आवश्यकता रहेको आयोगको भनाइ छ । पालिकाका जनप्रतिनिधिको कार्यकाल आउँदो वैशाखमा सकिँदै छ ।
सङ्घीय सरकारमा झन्डै दुईतिहाइको बहुमत भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पालिका र प्रदेश तहमा उपस्थिति नरहेकाले यो चुनाव रास्वपाका लागि जनमत जाँच गर्ने मध्यावधि चुनावजस्तै बन्नेछ ।
प्रदेशका जनप्रतिनिधिको कार्यकाल भने अर्को वर्षको मङ्सिरमा मात्रै सकिनेछ । सैद्धान्तिक रूपमा यी दुवै चुनावको मर्म र स्वभाव फरक भएकाले प्राथमिकता छुट्टाछुट्टै गराउने नै रहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्