काठमाण्डौ । अबको दुई हप्तासम्म देशका सबैजसो ठाउँमा मौसम खुल्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण हिजो केही ठाउँमा वर्षा र हिमपात भएकोमा त्यो प्रणाली निष्क्रिय भइसकेका कारण अब मौसम खुल्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद् एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक विनोद पराजुलीका अनुसार अब झण्डै दुई हप्तासम्म नेपालका धेरै ठाउँमा पानी पार्ने कुनै उल्लेखनीय मौसमी प्रणाली आउने सङ्केत छैन । बङ्गालको खाडीमा बन्ने प्रणालीले पनि नेपालमा वर्षा गराउने सम्भावना देखिएको छैन ।
यस्तै जलवायुविज्ञ उज्ज्वल उपाध्यायले पनि कम्तीमा एक हप्ता मौसम घमाइलो हुने बताउनुभएको छ । उहाँका अनुसार उपल्लो भूभागमा कतै–कतै छिटपुट वर्षा भए पनि देशका धेरैजसो ठाउँमा बदली र वर्षाको सम्भावना छैन ।
तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने भए पनि त्यो बिहान चाँडै हट्नेछ । मौसम खुल्ने भएकाले अब किसानले ढुक्क भएर धान काट्न र सुकाउन सक्नेछन् ।
यस्तै हिमाली तथा उच्च पहाडी क्षेत्रमा पदयात्रामा जानका लागि पनि अबका एक/दुई हप्ता मौसम अनुकूल बन्नेछ । मौसम खुल्ने र चिसो पनि धेरै नबढेकोले अबको केही समय पदयात्राका लागि अनुकूल भएको हो ।
प्रतिक्रिया दिनुहोस्