सन् २०२६ को अमेरिकी मध्यावधि चुनाव देशको इतिहासमै सबैभन्दा महँगो हुने देखिएको छ । विज्ञापन अनुगमन गर्ने संस्था ‘एडइम्प्याक्ट’ का अनुसार राजनीतिक विज्ञापनमा गरिने खर्च मात्रै ११.६ अर्ब अमेरिकी डलर अर्थात् १७ खर्ब ६९ अर्ब रुपैयाँभन्दा धेरै पुग्ने अनुमान गरिएको छ । यो रकम सन् २०२४ को राष्ट्रपतीय चुनावसहित विगतका कुनै पनि चुनाव चक्रको तुलनामा धेरै हो ।
प्रविधि, एआई र क्रिप्टोकरेन्सी क्षेत्रका दाताले आफ्नो उद्योगमा सरकारी नियमन खुकुलो बनाउने र आफू अनुकूल नीति निर्माण गर्ने राजनीतिक उम्मेदवारलाई जिताउन ठूलो रकम चन्दा दिइरहेका छन् ।
यसैबीच समाचार संस्था अलजजीराले आउँदो नोभेम्बर ३ को मतदानअघि सबैभन्दा धेरै चन्दा दिने व्यक्ति तथा कम्पनीहरू पत्ता लगाउन सङ्घीय निर्वाचन आयोगको तथ्याङ्क प्रयोग गरेको छ । अमेरिकी राष्ट्रपतिको चार वर्षे कार्यकालको ठीक आधा अर्थात् दुई वर्ष पूरा भएपछि मध्यावधि चुनाव हुने गर्छ ।
सन् २०२६ को मध्यावधि चुनाव चक्रमा ५० सबैभन्दा ठूला दाता र संस्थाहरूले अहिलेसम्म कुल २.७७ अर्ब अमेरिकी डलर अर्थात् ४ खर्ब २२ अर्ब रुपैयाँभन्दा धेरै योगदान गरेका छन् । रिपब्लिकन पक्षधर दाताहरूबाट १.६७ अर्ब डलर अर्थात् कुल चन्दाको झन्डै ६० प्रतिशत प्राप्त भएको छ । यो डेमोक्र्याटिक पक्षधर दाताहरूबाट प्राप्त ८३२ मिलियन डलर अर्थात् ३० प्रतिशतको तुलनामा दोब्बर हो ।
यस्तै २६ करोड ४० लाख डलर अर्थात् झन्डै १० प्रतिशत द्विपक्षीय वा विशेष रुचिको रूपमा वर्गीकृत योगदानकर्ताहरूबाट आएको हो जसमा खेल सट्टेबाजी र क्रिप्टोकरेन्सीलाई समर्थन गर्ने समूहहरू समावेश छन् ।
सङ्घीय निर्वाचन आयोगको तथ्याङ्कअनुसार विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क यस चुनाव चक्रमा ४४ करोड ६० लाख डलर अर्थात् ६८ अर्ब रुपैयाँभन्दा धेरै योगदान गर्ने सबैभन्दा ठूला व्यक्तिगत दाता हुनुहुन्छ । उहाँले रिपब्लिकन उम्मेदवारका लागि चन्दा दिनुभएको हो ।
यस्तै संस्थातर्फ सबैभन्दा धेरै चन्दा दिनेमा वन नेशन रहेको छ । वन नेशनले रिपब्लिकन उम्मेदवारका लागि १३ करोड ३० लाख डलर योगदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्