स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले राजीनामा दिने घोषणा गर्नुभएको छ । संसदीय निर्वाचनमा वामपन्थी तथा मध्य–वामपन्थी विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि क्रिस्टर्सनले राजीनामा दिन लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्विडेनको निर्वाचन प्राधिकरणका अनुसार ३ सय ४९ सदस्यीय संसद्मा चार विपक्षी दलले १ सय ७६ सिट जितेका छन् । सत्तारूढ गठबन्धनमा रहेका चार दलले भने १ सय ७३ सिट पाएका छन् । दुई पक्षबीच झण्डै ५० हजार मतको मात्र अन्तर रहेको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि क्रिस्टर्सनले नयाँ सरकार गठनका लागि बाटो खोल्न आफू प्रधानमन्त्री पदबाट मुक्त हुन चाहेको बताउनुभएको छ ।
अब नयाँ सरकार गठनको प्रक्रिया संसद्का सभामुखको नेतृत्वमा अघि बढ्नेछ । पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डरसन नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी सबैभन्दा ठूलो एकल दल बनेको छ । एन्डरसनले सन् २०२२ मा गुमाएको प्रधानमन्त्री पदमा पुनः फर्कने सम्भावना बढेको छ । तर, सरकार गठनका लागि उहाँलाई गठबन्धनभित्रका दलबीचको वैचारिक मतभेद मिलाउनुपर्ने चुनौती छ ।
विपक्षी गठबन्धनमा सामाजिक लोकतान्त्रिक पार्टीसँगै वामपन्थी पार्टी, ग्रिन पार्टी र सेन्टर पार्टी रहेका छन् । सेन्टर पार्टीले वामपन्थी पार्टीलाई सरकारमा मन्त्री पद दिएर सरकार गठन गरेमा समर्थन नगर्ने बताएको छ । संसद्ले नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता सेप्टेम्बर २९ तारिखमा मतदान गर्न सक्ने जनाइएको छ ।
यसैबीच, आप्रवासनविरोधी स्विडेन डेमोक्र्याट्सले यसपटक समर्थन गुमाएको छ । उसले १७ दशमलव ५ प्रतिशत मत पाएको छ, जुन सन् २०२२ को निर्वाचनभन्दा झण्डै तीन प्रतिशत बिन्दुले कम हो ।
प्रतिक्रिया दिनुहोस्