इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्न आह्वान गरेका छन् । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले हिजो टर्किए र इराकका विदेशमन्त्रीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो ।
टर्किएका विदेशमन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उहाँहरूबीच सहमति भएको छ । त्यसैगरी इराकका विदेशमन्त्री फुवाद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ ।
दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्