Ads3

झापाको बाहुनडाँगीमा हात्तीको त्रास, बाली जोगाउन प्रहरी पनि खेतमै

झापाको बाहुनडाँगीमा हात्तीको त्रास, बाली जोगाउन प्रहरी पनि खेतमै

काठमाण्डौ । भारतबाट आउने जङ्गली हात्तीको ठूलो बथानका कारण झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४, बाहुनडाँगीका किसान चिन्तित बनेका छन् ।हात्तीको बथानले जुनसुकै बेला खेतबारीमा पसेर बाली नष्ट गर्ने जोखिम छ भने यसको निरन्तर आवागमनले स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ ।

पछिल्ला दिनमा हात्तीको ठूलो बथान सीमावर्ती क्षेत्रमा देखिन थालेपछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । नेपालतर्फ हात्ती प्रवेश गर्न नदिन र सम्भावित क्षति रोक्न सशस्त्र प्रहरी बलको बाहुनडाँगीकाे सीमा सुरक्षा पोस्ट, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी, वनरक्षक, र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) तथा स्थानीय बासिन्दालाई परिचालन गरिएको छ ।

हात्तीको त्रासका कारण किसानले एक्लै खेतमा गएर धान काट्न असुरक्षित महसुस गर्न थालेपछि सुरक्षाकर्मी नै खेतमा पुगेर किसानलाई सघाउन थालेका छन् । हिजो मेचीनगर–४ को हात्ती प्रभावित क्षेत्र तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसान संयुक्त रूपमा धान काट्न जुटेका थिए ।

स्थानीयबासीका अनुसार एकै दिनमा सयको हाराहारीमा हात्ती नेपालतर्फ आउने गरेका छन् । नेपाल र भारतबीच नियमित आवतजावत गर्ने जङ्गली हात्तीको सङ्ख्या झण्डै १५० रहेको अनुमान छ ।

हात्ती नियन्त्रणका लागि बाहुनडाँगी क्षेत्रमा झण्डै एक दशकअघि निर्माण गरिएको विद्युतीय तारबार अहिले जीर्ण बनेको स्थानीयबासीको गुनासो छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्