Ads3

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ ।तथ्याङ्कअनुसार जापानमा अहिले १ लाख ७ हजार ६७७ जना १०० वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो सङ्ख्या विश्वमै सबैभन्दा धेरै हो, यसमध्ये ८८ प्रतिशत महिला छन् । सबैभन्दा धेरै उमेरकी महिला क्योटो शहरकी ११४ वर्षीया किशिमोतो फुयो र सबैभन्दा धेरै उमेरका पुरुष कुमामोतोका ११२ वर्षीय कातो हिकारु हुनुहुन्छ ।

स्वास्थ्यमन्त्री केनिचिरो उएनोले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो, स्वस्थ र सक्रिय जीवन बिताइरहेकोमा आफू खुशी भएको बताउनुभयो । तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे पनि सचेत गराउनुभएको छ ।

विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैलीलगायतका विभिन्न कारकहरूलाई दिन्छन् ।

यस टापु–राष्ट्रको खानपानमा मुख्यतया माछा, तरकारी र भात समावेश हुन्छन् — र यसमा धेरैजसो पश्चिमी खानपानको तुलनामा ‘स्याचुरेटेड फ्याट’ अर्थात् संतृप्त बोसो कम हुन्छ ।

वृद्धवृद्धाहरू पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाडी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन् ।

कुनै जनसङ्ख्याले आफ्नो ठाउँ आफैँ पूर्ति गर्नका लागि प्रत्येक महिलाले औसतमा २.१ सन्तानलाई जन्म दिनुपर्ने हुन्छ । गएको वर्ष जापानको कुल प्रजनन दर घटेर १.१४ को कीर्तिमानी न्यून स्तरमा पुगेको थियो ।

जापानमा वृद्धवृद्धाको जनसङ्ख्या बढ्दै गएको छ र त्यहाँ एक दशकभन्दा धेरै समयदेखि शिशुहरूको भन्दा वयस्कहरूले प्रयोग गर्ने डाइपरको बिक्री धेरै हुँदै आएको छ ।

जनसङ्ख्या तथा सामाजिक सुरक्षा अनुसन्धानसम्बन्धी राष्ट्रिय संस्थाको तथ्याङ्कअनुसार सन् २०७० सम्ममा कुल जनसङ्ख्या घटेर ८ करोड ७० लाखमा सीमित हुने अनुमान छ । यो सङ्ख्या सन् २००८ मा पुगेको १२ करोड ८० लाखको उच्च विन्दुको तुलनामा ३० प्रतिशतको कमी हो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्