युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले स्टारलिंकको सेवामा रहेको गतिरोध हटाउन अमेरिकी सरकार र प्रविधि उद्यमी एलन मस्कलाइ अनुरोध गर्नुभएको छ ।महत्वपूर्ण स्याटलाइट इन्टरनेट सेवाको गति सुस्त हुँदा रुसी आक्रमण रोक्ने आफ्नो देशको क्षमता प्रभावित भएको भन्दै उहाँले यस्तो अनुरोध गर्नुभएको बीबीसीले जनाएको छ ।
एलन मस्कको स्वामित्वमा रहेको र अमेरिकी सरकारले युक्रेनलाई उपलब्ध गराएको सैन्य ग्रेडको ‘स्टारशील्ड’ प्रणाली हप्तौँदेखि सुस्त गतिमा चलिरहेको छ । युक्रेनले हवाई क्षेत्रमा रुसी क्षेप्यास्त्र र ड्रोनहरू रोक्न यो प्रविधि प्रयोग गर्दै आएको छ ।
राष्ट्रपति जेलेन्स्कीले जाडो याम शुरु हुनुअघि नागरिकको जीवनरक्षा र ऊर्जा पूर्वाधार जोगाउन यी अवरोधहरू तत्काल हट्नुपर्ने बताउनुभएको छ । गएको अक्टोबरदेखि देखिएको यो गति सीमाको विषयलाई लिएर मस्क र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच फरक–फरक धारणा सार्वजनिक भएका थिए ।
रुसभित्रका तेल प्रशोधन केन्द्रहरूमा युक्रेनले गरेको आक्रमणपछि उत्पन्न कूटनीतिक तनावसँग यो विषय जोडिएको छ । अग्र मोर्चा र रुसको अस्थायी कब्जामा रहेका क्षेत्रहरूमा अझै पनि इन्टरनेट गतिमा प्रतिबन्ध कायम रहेको जेलेन्स्कीको भनाइ छ ।
ती क्षेत्रमा सेवा रोक्नु भनेको कब्जा गरिएका भूभागलाई आंशिक रूपमा रुसकै मान्यता दिनु सरह हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्